काठमाडौँ । अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ ।
विसं २०७५ पुसमा असन्तुष्टि जनाउँदै साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएको थियो । आज एक समारोहका बीच दोस्रो पटक पार्टी एक भएको घोषणा गरिएको हो । एकीकृत पार्टीका नेताले हिजो जानेर÷नजानेर अलग हुनु परेकोमा माफी मागेका छन् । नाम ‘विवेकशील साझा’ पार्टी राखिएको छ । अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे हुनुहुन्छ । कार्यकारी अधिकार दुवैलाई रहने जनाइएको छ ।
दुवै दलबाट केन्द्रीय समितिमा ६५÷६५ गरी १३० र सचिवालयमा १३÷१३ गरी २६ सदस्यीय रहने घोषणा कार्यक्रममा जानकारी दिइएको छ । केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय सदस्य चयन गर्नेछ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा रहनेछ । लोगो र चुनाव चिह्न तराजु राखिएको छ । दुई महिनाभित्र सबै संरचना निर्माण गर्ने र छ महिनाभित्र एकता महाधिवेशन गर्ने समारोहमा जारी एकता घोषणापत्रमा उल्लेख छ ।
एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोहीअनुरुप काम कारवाही अघि बढाइने घोषणापत्रमा उल्लेख छ । दुवै पार्टीबाट तीन तीन जना रहने गरी संवाद समिति बनाइएको छ । त्यही समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरेअनुसार पार्टीको कामकारवाही अघि बढ्ने छ ।
घोषणा समारोहमा एकीकृत पार्टीका अध्यक्ष मिश्रले वैकल्पिक शक्तिको रुपमा प्रगतिशील पार्टी बनाउन चाहेको बताउनुभयो । उहाँले अप्ठेरो चुनौतीको बाटो तय गर्दा हामी एक पटक लडेको र त्यसबाट ठूलो समुदाय नै प्रभावित हुनु परेकोमा दुःख व्यक्त गर्नुभयो । “केन्द्रीय नेतृत्वको प्रयास, दबाब समूहलगायत चाहनाका कारण फेरि पार्टी एक हुन सफल भयो, सबैको साथ रहेमा सकारात्मक प्रयास कायम राखी पार्टीलाई अटल बनाउँदै देशको नेतृत्व गर्ने पार्टी बन्नुपर्छ भन्ने हाम्रो चाहना छ”, अध्यक्ष मिश्रले भन्नुभयो । उहाँले गल्तीको नागरिकले क्षमा दिने विश्वास व्यक्त गर्नुभयो ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिनमा एकीकरण घोषणा गर्नुको पछाडि भ्रष्टाचारमुक्त समाज, सुशासन र समृद्धिको चाहना जोडिएको अध्यक्ष मिश्रले जानकारी दिनुभयो । उहाँले सक्षम र इमान्दार व्यक्ति नेतृत्वमा नपुगेका कारण मुलुक भ्रष्टाचारबाट माथि उठ्न नसकेको जिकिर गर्दै गणतन्त्रको सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार हो भन्नुभयो । उहाँले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको उल्लेख गर्नुभयो ।
घोषणा समारोहमा संयोजक पाण्डेले आम नागरिकको एजेण्डा बोक्ने सच्चा लोकतान्त्रिक पार्टी बनाउने उद्घोष गर्नुभयो । उहाँले पार्टी फुटेकोमा समेत माफी माग्नुभयो । विवेकशील नेपाली दल र साझा पार्टी विसं २०७४ साउन ११ गते एकीकरण भएको थियो । आपसी असन्तुष्टिका कारण लामो समय नटिकी विसं २०७५ पुस २७ गते विभाजित भएको थियो । दुवै पार्टी गएको वैशाखदेखि नै एकताको प्रक्रियामा थिए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ