लण्डन । आफ्नो सांगीतिक यात्रा ५० वर्ष पुगेको अवसरमा ‘लिभिङ लेजेण्ड’ गायक दीप श्रेष्ठ शुक्रबार राती लण्डनमा गुन्जिए । ‘दीप श्रेष्ठ साँझ हाम्रो माझ’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रममा गायक श्रेष्ठले करिब दुई घण्टा निरन्तर नयाँ पुराना गीत प्रस्तुत गरे ।
राती करिब ९ बजे साउथइस्ट लण्डनस्थित लोटस क्लब हल दर्शकले भरिभराउ थियो । कार्यक्रम शुरु गर्ने भनिएको निर्धारित समय भन्दा केही ढिला भैसकेकोले बाध्यवाधकहरु ताल मिलाउन व्यस्त देखिन्थे । गायक दीप श्रेष्ठ पनि हार्मोनियममा आफ्ना औंलाहरु खेलाउदै प्रस्तुति शुरु गर्ने क्रममा थिए । त्यतिकैमा उनको हातमा एक प्याक ह्वीस्की थमाइयो । उनको हातमा ह्वीस्की थमाइ दिने अरु कोही नभएर चर्चित एवं लोकप्रीय गायक योगेश्वर अमात्य थिए । त्यसो त गायक श्रेष्ठ आफ्नो प्रस्तुतिका क्रममा कहिल्यै मदिरा सेवन नगर्ने खुलाए । तर सांगीतिक यात्रा शुरु गरेको ५० औं वर्ष अर्थात स्वर्ण जयन्ती पुगेको अवसरमा पिउनै पर्ने गायक अमात्यको जिद्दी र दर्शकदीर्घाबाट पनि अनुरोध आएपछि एक सुर्की लगाउँदै उनले शुरु गरे ।
पहिलो गीत ‘म पत्थरको देवता होइन…’ अनि शुरु भयो दर्शकदीर्घाबाट तालीको गड्गडाहट । क्रमशः हुँ यात्री, झस्किएछ मन, काँडालाई फूल भनेर, तिमी आकाशको जुन लगायत आधा दर्जन गीत गाइसके पछि दर्शकको अनुमतिमा आफ्नो छेउमै रहेको गिलासमा रहेको आधा–आधी ह्वीस्की एकै चोटीमा स्वाट्ट पारी दिए र शुरु गरे कयौँ दर्शक स्रोताहरुको मानसपटलमा आज पनि ताजै रहेका गीत । कति कमजोर रहेछ भाग्य, म त दूर देखि आएँ, मेरो आखाँमा, गल्ती हजार हुन्छन्, बितेका कुरा जस्ता कालजयी गीतहरु प्रस्तुत हुँदा कार्यक्रमको माहोल संगीतमय बन्यो । प्रस्तुत भएका प्राय गीतहरुका लागि दर्शकदीर्घाबाट वान्स् मोरको आवाज गुन्जी रह्यो ।
कार्यक्रमको अर्को रोमान्चक पक्ष गायक श्रेष्ठको सरलता, बेलाबखत मजाक अनि दर्शकसँग अन्तरक्रिया थियो। एक पछि अर्को गीत प्रस्तुत हुँदा गीतसँग सम्बन्धित अनुभव सुनाउँदै दर्शकलाई रोमान्चित बनाउँथे उनी। करिब दुई घण्टाको अन्तरालमा उनले डेढ दर्जन गीत प्रस्तुत गरे ।
प्रस्तुतिका क्रममा गायक श्रेष्ठलाई दृष्टी ब्याण्डका विक्रम कार्कीले रिदम र लिड गितार, मनिकमान सिंहले बेस गितार तथा सुन्दर कुमार महर्जनले तबला र अक्टोप्याडमा साथ दिएका थिए । अन्य कायक्रमहरु बेलायतको विभिन्न शहरहरुसँगै यूरोपमा पनि हुने गायक श्रेष्ठले जानकारी दिए ।
उनको यो सांगीतिक भ्रमण बेलायतमा चौथो पटक हो । सन् २०१५ मा ऐतिहासिक महत्व रहेको विश्व प्रसिद्ध रोयल अल्वर्ट हलमा पनि उनले प्रस्तुति दिएका थिए जसको श्रेय गायक योगेश्वर अमात्यलाई जान्छ । गायक अमात्यकै पहलमा उक्त हलमा प्रस्तुति दिन पाएको उनले स्मरण गरे ।
सानैदेखि संगीतमा रुचि राख्ने श्रेष्ठले पहिलो गीत वि.सं. २०२५ साल पुस १ गते गीतकार बिजय श्रेष्ठको शब्दमा ‘म पत्थरको देवता होइन’ रेकर्ड गराएर व्यवसाहिक गायन यात्रा शुरु गरेका थिए । हाल सम्म ३०० बढी गीत गाइसकेका श्रेष्ठले आफ्नै छोरीहरुको नाममा दृष्टी र श्रृङखला गरी ८ वटा एल्बम निकालिसकेका छन् ।
गोर्खा बियरले प्रायोजन गरेको उक्त कार्यक्रम संयोजन जीवन सेन र परिकल्पना गायक योगेश्वर अमात्यले गरेका थिए । उनलाई समाजसेवी मनिष श्रेष्ठ, जीवन सेन, प्रसिद्ध प्रधान, ह्यारी गुरुङ लगायत ईनास यूके, प्रतिभा नक्षत्र, नमस्कार इभेन्ट संस्थाहरुले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए ।
कार्यक्रमको सुरुवातमा समाजसेवी मोहन गुरुङ र पूर्व मोडल तथा प्रतिभा नक्षत्रकी अध्यक्ष सिमी पुनले गायक श्रेष्ठ लगायत बाध्यवाधकहरुलाई खादा र पुष्प गुच्छाले सम्मान गरे ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ