लन्डन । बेलायतको तीनदिने भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी टेरेजा मेसँग भेट गरी गोरखा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि पुनरावलोकनको प्रस्ताव राखेका छन् ।
बेलायती प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ मा भएको करिब आधा घण्टा लामो भेटमा उनले नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सन्धि पुनरावलोकन गर्न प्रस्ताव राखेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्रीले गोर्खा सरोकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्न मेलाई ध्यानाकर्षण गराएका थिए ।
बेलायती प्रधानमन्त्री मेले राजीनामा दिइसकेकाले नेपालका प्रधानमन्त्रीको १७ वर्षपछिको बेलायत भ्रमणमा कुनै पनि किसिमको सम्झौता हुन सकेन । ‘सहयोगभन्दा पनि मित्र राष्ट्रबीच सहयोग सुदृढ गर्ने कुरा महत्त्वपूर्ण हो,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘बेलायतको सहयोग निरन्तर भई नै रहेको छ । हामीले यसपटक प्रविधि हस्तान्तरण र लगानीका क्षेत्रमा सहयोग गर्न जोड दिएका छौँ ।’
प्रधानमन्त्री ओलीले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिको व्याख्या गर्दै राजनीतिक संक्रमणपछि नेपाल आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए । परराष्ट्रमन्त्रीका अनुसार उनले नेपालको विकास प्रयासमा अझ बृहत्तर सहयोग गर्न बेलायतसँग आग्रह गरेका थिए । ओलीले विकासका साथै प्राकृतिक विपत्ति जस्तै भूकम्पका बेला बेलायतको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
बेलायती समकक्षी मेले परिवर्तनका लागि नेपाललाई बधाई दिँदै बेलायतको सधैँ दृढ समर्थन र ऐक्यबद्धता रहेको विश्वास दिलाएकी थिइन् । दुवै मुलुक राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्य भएका नाताले मानवअधिकारका विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले गोर्खा समस्याबारे कुरा उठाएका थिए । गोर्खाहरू बेलायत-नेपाल सम्बन्धको अत्यन्त महत्त्वपूर्ण कडी भएकाले उनीहरूको समस्याबारे छलफल गरेर अगाडि बढ्ने आश्वासन मेले दिएको मन्त्री ज्ञवालीले बताए ।
भेटमा ओलीले कूटनीतिक सम्बन्ध स्थापनाको दुई शताब्दी बढी समयमा पनि बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण नभएकोप्रति ध्यानाकर्षण गराउँदै उच्चस्तरीय भ्रमण शृंखला जोड्न आग्रह गरेका थिए । प्रत्युत्तरमा मेले आफ्ना उत्तराधिकारीले भावी दिनमा भ्रमणलाई प्राथमिकता दिने जनाएकी थिइन् ।
यसैबीच, प्रधानमन्त्री ओलीले बेलायती राजकुमार हयारीसँग पनि मंगलबार भेट गरे । केन्जिङटन प्यालेसमा भएको आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । भेटमा ओलीले प्रिन्स हयारीलाई भूकम्पका बेला गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।
करिब दुई वर्षअघि नेपाल भ्रमण गरेका हयारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको बताउँदै आएका छन् । अफगानिस्तानमा गोर्खा सैनिकहरूसँगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको खुलेर प्रशंसा गर्दै आएका छन् । भूकम्प गएको झन्डै एक वर्षपछि नेपाल पुगेका हयारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोरखामा गाउँलेहरूसँगै ढुंगा र माटो बोकेर विद्यालय पुनर्निर्माणमा सघाएका थिए ।
ओली र बेलायतको प्रमुख प्रतिपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनबीच पनि भेटवार्ता भएको छ ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग