लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रधानमन्त्री केपी ओलीको तीन दिने बेलायत भ्रमण बेलायतवासी नेपालीको सौभाग्य र गौरवको विषय भएको बताएका छन् । प्रधानमन्त्री ओली बेलायती समकक्षी टेरेजा मेको निमन्त्रणामा बेलायतको तीन दिने भ्रमणमा लन्डन आइपुग्नु दुई दिन अघि शनिबार राजदूत डा. सुवेदी क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रममा बोल्दै थिए ।
‘हाम्रो सम्माननीय प्रधानमन्त्रीले देशमा स्थिरता आइसकेपछि निर्वाचनद्वारा सवल, सक्षम सरकार निर्वाचित भइसकेपछि २०३ वर्ष भन्दा लामो मैत्रीपूर्ण, सुमधुर, सुदृढ र मित्रवत एवं कुटनीतिक सम्बन्धको सबैभन्दा पुरानो राष्ट्रको भ्रमण गर्दै हुनुहुन्छ’, राजदूतले भने, ‘सार्वभौम, स्थिर, सवल र सक्षम सरकारको प्रतिनिधित्व गरेर बेलायत आउन लाग्नुभएका प्रधानमन्त्रीको स्वागत, सम्मान गरौं । त्यो सम्मान नेपाल, नेपाल सरकार, नेपालीको सम्मान साथै बेलायतको नेपाली समुदायको पनि सम्मान हो ।’
‘हाम्रा समस्या, गुनासाहरु होलान्, केही भावना पनि होलान्, ति भावना र सद्भावनालाई प्रतिविम्बित गर्दै नेपाल, नेपाली जनता र सरकारको प्रतिनिधित्व गर्दै देशको प्रधानमन्त्री आउंदै हुनुहुन्छ, शीर ठाडो पार्नुहोस्’- राजदूत डा. सुवेदीले थपे, ‘देश अब उज्यालो र फराकिलो बाटोमा छ । देशमा निकास आइसकेको छ, विकास ल्याउन बांकी छ भन्ने सन्देश बोकेर प्रधानमन्त्री आउन लाग्नुभएको छ । म तपाईंहरु सबैलाई बधाइ दिन चाहन्छु ।’
उनले बेलायतका नेपालीले मातृभूमिमा कष्ट र संकट पर्दा मुठी, मन खोलेर उदारपूर्वक गरेको मानवीय सहयोगबारे प्रधानमन्त्री ओलीलाई सुनाउने पनि बताए ।
राजनकुमार क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजदूत सुवेदीले संस्थाकी प्रतिमा केसीको ‘पानीको विद्रोह’ कृति पनि विमोचन गरे । ४९ कविता रहेको उक्त संग्रह भावना र सम्भावना बोकेको एउटा पठनीय उत्कृष्ट कृति भएको राजदूतले बताए ।
कार्यक्रममा केही महिनाअघि लन्डनमा आयोजित नेपाली कविता कन्सर्टमा सहभागी स्थानीय श्रष्टाहरु फडिन्द्र भट्टराई, नृपेश उप्रेती, रेखा खरेल, रमेश कायस्थ र कन्सर्ट संयोजक रामशरण सिम्खडालाई राजदूत डा. सुवेदी, संरक्षक ध्रुव केसी, एनआरएनए उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले सम्मान गरेका थिए । उक्त कन्सर्टबाट करिब १७ लाख रुपैयां संकलन भएको थियो ।
महासचिव कुमार केसीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा एनआरएनए उपाध्यक्ष कुल आचार्य, संरक्षक ध्रुव केसी, सल्लाहकार रामशरण सिम्खडा, जान्वी फाउण्डेशन नेपालकी अध्यक्ष जान्वी बोहोरा, ‘मिस इंग्ल्याण्ड-२०१९’ फाइनलिष्ट प्रतिष्ठा राउत, श्रेया कुंवर लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा सुलभ श्रेष्ठ, प्रतिमा केसीले कविता वाचन गरे भने नेपालका चर्चित कलाकारहरु कुलेन्द्र बिक, भूमिका गिरी र स्थानीय गायक दीपक थापा लगायतले गायन प्रस्तुत गरे । सुस्मिता थापा, सुनिता थापा, अदिती अधिकारी, अमिस खड्का आदिले नृत्य गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने व्यक्ति र आजीवन सदस्यहरुलाई पनि सम्मान गरियो । सो अवसरमा उपाध्यक्ष यज्ञ क्षेत्रीले स्वागत र अर्की उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रतिमा केसीले धन्यवाद मन्तव्य दिए ।
तस्विरहरु- नरेन्द्र बस्नेत
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’