लण्डन । नेपालमा लगानी सम्मेलन आयोजना गरिएको केहि सातापछि लन्डनका उपमेयरले बेलायत नेपालसंग व्यापारिक सम्वन्ध अगाडी बढाउन इच्छुक रहेको बताएका छन् । लन्डन मेयरको कार्यालय सिटीहलमा हेल्प नेपाल नेटवर्कको २० औं वार्षिकोत्सव मनाउन आयोजित एक समारोहलाई सम्बोधन गर्दै व्यापार क्षेत्र हेर्ने उपमेयर राजेश अग्रवालले लन्डन नेपालसंग व्यापार सम्वन्ध बढाउन चाहेको बताए ।
आफू लण्डनको पहिलो हिन्दु उपमेयर भएको बताउंदै अग्रवालले लन्डनमा नेपाली समुदाय निकै सक्रीय रहेको र नेपालीहरुले सञ्चालन गरेको व्यवसाय तीव्र गतिमा विस्तार भैरहेको बताए । उनले नेपाली समुदायसंग सहकार्य गर्न र सघाउन लन्डन मेयरको कार्यालय तयार रहेको पनि बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुवेदीले गएको २० वर्षमा शिक्षा, स्वास्थ्य तथा विपद सहायताका क्षेत्रमा हेल्प नेपाल नेटवर्कले पुराएको सेवा प्रशंसनीय भएको बताए । उनले ‘धन सहितको मन मात्रै हैन, मन सहितको धन पनि चाहिन्छ’ भन्दै यस्ता कल्याणकारी कामहरुलाई सघाउन सबैलाई आग्रह पनि गरे ।
गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले महिनामा एक पौण्ड वा एक डलर उठाएर पनि नेपालमा विपन्न समुदायको हितमा काम गर्न सकिंदो रहेछ भन्ने उदाहरण हेल्प नेपाल नेटवर्कले देखाएको बताए । उनले नेटवर्कले गर्न लागेको दोलखास्थित राजकुलेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणमा एनआरएनले पनि सघाउने विश्वास दिलाए ।
कार्यक्रममा लन्डन एसेम्ब्लीमा लेबर पार्टीका नेता लेन डुभाल, एनआरएनए युके अध्यक्ष योगकुमार फगामी लगायतका वक्ताले हेल्प नेपाल नेटवर्कले गर्दै आएको कल्याणकारी कामको प्रशंसा गर्दै आगामी दिनमा पनि तिनको निरन्तरताका लागि शुभकामना दिएका थिए ।
हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले बेलायतस्थित सबै सहयोगीहरुलाई धन्यवाद दिन आफू नेपालबाट आएको बताउंदै दाताहरुको सबै रकम पारदर्शी तरिकाले नेपालमा खर्च गरिने गरिएको बताए । हेल्प नेपाल नेटवर्कका गतिविधिहरुका बारेमा नेटवर्कका मिडिया संयोजक भगीरथ योगी तथा हेल्प नेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले हेल्प नेपाल नेटवर्क युके शाखाको गतिविधिको बारेमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नाम्लो ब्याण्डका गंगा थापाले सांगीतिक प्रस्तुति गरेका थिए । कार्यक्रमको शुरुमा नेटवर्कका अध्यक्ष डा प्रणव ज्ञवालीले सबै उपस्थित अतिथिहरुलाई स्वागत गरे भने नेटवर्कका सदस्य यादव भण्डारीले सबै सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।
साथै नेटवर्कका युवा स्वयंसेवीहरु रबीन भण्डारी, मनिष भण्डारी, रसिका श्रेष्ठ, आर्या श्रेष्ठ, उत्कृष्ट श्रेष्ठ तथा सिराज श्रेष्ठले रोचक ढंगले कार्यक्रम संचालन गर्न सघाएका थिए।
सन् १९९९ मा युके र नेपालमा स्थापित हेल्प नेपाल नेटवर्कले शिक्षा, स्वास्थ्य तथा विपद सहायताका क्षेत्रमा काम गर्दै आएको छ ।
नेटवर्कले मुगुमा गत १५ वर्ष देखि एउटा हेल्थ पोस्ट संचालन गरिरहेको छ भने धुलिखेलमा स्थापना गरेको चिल्ड्रेनस होममा बसेर २२ छात्राले स्थानीय सामुदायिक विद्यालयमा पढिरहेका छन् ।
तस्बिर–शिव भण्डारी
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो