काठमाडौँ, २३ फागुन – एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ ।
जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो ।
प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमा नै काम सकिने अनुमान छ । जगभन्दा मुनि नै १८२ पिल्लर राख्नुपर्ने भएकाले हालसम्ममा ५६ वटा पिल्लर राख्ने काम सकिएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । सो अवसरमा उहाँले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्ने बताउनुभएको थियो । हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भरयाङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनः निर्माण शुरु गरेको हो । कूल तीन अर्ब ४८ करोड रुपैयाँ लगानीमा निर्माण हुने धरहरा धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।
निर्माण भइरहेको धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने छ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।
एघार तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको थियो । तत्कालका लागि गौश्वारा हुलाक कार्यालय रहेको भवन अन्यन्त्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको छ । अबको तीन महीनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
रानीपोखरीको पनि पुनःनिर्माण
भूकम्पका कारण पूर्णरुपमा क्षति भएको ऐतिहासिक सम्पदा रानीपोखरीको पनि यसै सातादेखि पुनःनिर्माण कार्य प्रारम्भ भएको छ । क्षति पुगेको तीन वर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाबाट निर्माणको काम हुन नसके पनि अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माणको काम थालेको हो ।
राष्ट्रप्रमुखबाट तीन वर्ष अघि शिलान्यास भए पनि पुनःनिर्माण शुरु नभएको उक्त पोखरीको निर्माण कार्यअन्तर्गत अहिले सफा गर्ने काम धमाधम भइरहेको छ । २ माघ २०७२ मा शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माणको काम शुरुमा काठमाडौँ महानगरपालिकाले पाएको थियो तर, महानगरले ठेकदारमार्फत् काम गराउँदा प्राचीन सम्पदा पुनःनिर्माणमा एकपछि अर्को विवाद भएपछि काम हुन नसकेको हो । आउने तिहारमा पोखरीमा पानी भर्ने गरी काम गरिने प्राधिकरणले जनाएको छ ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो ।
काष्ठमण्डप पुनः निर्माण १३ प्रतिशत
अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले काठको काम भइरहेको छ । फागुन महीनाभरि मुख्यमुख्य रुपमा गर्नुपर्ने काठको काम गरिने र चैतदेखि धमाधम अन्य काम हुने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले भन्नुभयो । यस सम्पदाको अहिलेसम्ममा १३ प्रतिशत काम सकिएको छ
विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा गरिसकिएको छ । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।
गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन रहेको काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डको मुख्य चार थाम उठाउइएको हो । प्रयोग गरिएका चार वटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको छ ।
अध्यक्ष शाक्यले भन्नुभयो, “२०७६ सालको असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ । महानगरपालिकाले पुनःनिर्माण समितिलाई हालसम्ममा रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ ।
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’