
मंगलबार अर्थमन्त्रालयमा आयोजित समारोह दोहोरो कर उन्मुक्ति नेपाल र बङ्गलादेशबीच कर नउठाउनेसम्बन्धी त्रिपक्षीय समझदारी कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडालगायत । तस्वीर- चन्द्रकला क्षेत्री, रासस
काठमाडौँ, २१ फागुन – नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशङ्कर घिमिरे र बङ्गलादेशका राजश्व सचिव मुसरफ हुसेनले आज सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी २०७१ सालमै भए पनि विभिन्न कारणले रोकिएको थियो । सम्झौताबमोजिम नेपालमा लगानी गर्ने बङ्गलादेशका उद्योगीलाई नेपालमा कर तिरे हुने गरी मार्ग प्रशस्त गरेको छ । एक देशमा मात्रै कर तिरे हुने प्रावधानले लगानीको वातावरण बन्ने अपेक्षा मन्त्रालयले गरेको छ ।
नेपालले यसअघि चीन, भारत, कतार, दक्षिण कोरिया, पाकिस्तान, मौरिसस, अष्ट्रिया, श्रीलङ्का, नर्वे र थाइल्याण्डसँग दोहोरो कर उन्मुक्ति सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार एक देशका लगानीकर्ताले अर्काे देशमा लगानी गर्दा दुवै देशमा कर तिर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । द्विपक्षीय लगानी, व्यापार विस्तार तथा रोजगारीमा रहनेलाई समेत फाइदा पुग्ने र लगानीको वातावरण बन्ने भएकाले त्यस्तो सम्झौतालाई विश्वका धेरै देशले अवलम्बन गर्दै आएका छन् ।
सम्झौतालाई सचिव घिमिरेले ऐतिहासिक भन्दै दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार र लगानीका लागि समेत मार्ग प्रशस्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) तथा अन्य क्षेत्रीय सङ्गठनमा समेत सदस्य रहेका दुई देशबीचको सम्झौताले दूरगामी प्रभाव पार्ने छ भन्नुभयो ।
यस्तै बङ्गलादेशका राजश्व सचिव हुसेनले अर्को देशमा लगानी विस्तार तथा थप आयामको खोजीका लागि आजको सम्झौता महत्वपूर्ण हुने बताउनुभयो । नेपालले आफ्नो देशका विभिन्न बन्दरगाह प्रयोग गर्न पाउने तथा एक अर्काे देशमा लगानीका लागि पनि सम्झौताले मार्ग प्रशस्त गरेको उहाँको भनाइ थियो । बङ्गलादेशले यसअघि ३५ देशसँग त्यस्तो सम्झौता गरिसकेको छ ।
सम्झौताबमोजिम द्विपक्षीय व्यापार, सेवा र पूँजी लगानीका लागि सहजीकरण गर्ने विश्वास लिइएको छ । यस्तो सम्झौताले नेपालमा लगानी गर्न चाहने बङ्गलादेशका उद्योगी व्यवसायीलाई सहजीकरण गर्नेछ । सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गर्न लागेको सन्दर्भमा पनि दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
दुई देशबीच ऊर्जा आदानप्रदान तथा लगानीसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर भएको छ । नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेशका लगानीकर्ताले लगानीका लागि इच्छा व्यक्त गरेका छन् । सन् २०४० सम्म नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् लैजाने बङ्गलादेश सरकारको योजना छ । सम्झौताले ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन तथा अन्य औद्योगिक लगानीका लागिसमेत एक अर्का देशमा सहज हुनेछ बनाउने भएको छ ।
‘आयकर ऐन, २०५८’ ले कुनै व्यक्तिको कुनै आयमा कानूनबमोजिम कर लाग्ने व्यवस्था गरेको छ । विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने त्यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा सम्झौता गर्न सक्ने व्यवस्था छ । सोही प्रावधानअनुसार नेपालले दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता गरेको हो ।सम्झौता पछि करदाताले दोहोरो करको भारबाट मुक्ति पाउन र मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न सम्बन्धित देशको आयकर कानूनले अर्को देशमा तिरेको कर मिलान गर्न पाउने भएका छन् ।
करदातालाई दोहोरो करको भार पर्न नदिन आयकर ऐनमै कानूनी व्यवस्था गरी दुई देशबीच दोहोरो कर मुक्ति सम्झौता गर्ने विश्वव्यापी प्रचलन छ । कार्यक्रममा अर्थ मन्त्रालयका उच्च अधिकारी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सलगायतको उपस्थिति थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता