काभ्रेपलाञ्चोक, ३ माघ – पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ ।
नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामीले यस वर्ष भैँसी संरक्षण अभियानअन्तर्गत कृषकलाई व्यावसायिक भैँसीपालनतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन यसो गरेका हौँ ।” उहाँका अनुसार कृषकले भैँसीको सुत्केरी भत्ता लिन अनिवार्यरूपमा बीमा गरेको हुनुपर्छ ।
जन्मदर्ता भएका पाडीको स्याहार गरी सोही पाडी सुत्केरी भएपछि पालनपोषण स्वरूप कृषकले २० हजार भत्ता पाउने तथा पहिलो बेतमा ब्याएका भैँसीलाई पाँच हजार र दोस्रो बेतदेखि दुई हजारका दरले भत्ता दिने नीति नगरपालिकाले बनाएको छ । साथै, कृषकले आफ्नो घरमा पालेको सुत्केरी भैँसी र उसबाट जन्मिएको पाडा वा पाडीको फोटोसहित वडा कार्यालयको सिफारिश र नागरिकताको प्रतिलिपि पेश गरेपछि नपा कार्यालयबाट भत्ता रकम उपलब्ध गराइनेछ ।
नगरले चालू आवमा १२ लाख रकम छुट्याएर सुत्केरी भैँसीभत्ता वितरण थालिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले व्यावसायिक कृषि र पशुपालनलाई प्राथमिकतामा राखी युवा तथा कृषकलाई अनुदान, प्रोत्साहन भत्ता दिएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न यो अभियान थालेका हौँ ।”
वडा नं १२ वडाका भावना थापाले नगरपालिकाले सुत्केरी भत्ता र अनुदान दिन थालेपछि आफूले अर्को एउटा भैँसी थप्ने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा दुईवटा छन्, अब एउटा थप्छु, अब भैँसीले पाडो हैन पाडी पाओस् भन्ने चाहना छ ।” चालू आवको साउनदेखि हालसम्म सुत्केरीभत्ताका लागि भन्दै १०७ वटा माग फारम भरिएको नगरका पशु चिकित्सक मणिप्रसाद सापकोटाले बताउनुभयो ।
यसमध्ये ५५ वटा पहिलो बेतका सुत्केरी भैँसीका फारम हुन् । उहाँ भन्नुहुन्छ, “भैँसी सुत्केरी भएपछि कृषकले जानकारी दिनुहुन्छ, हामी वडाका जनप्रतिनिधिको रोहबरमा पाडा वा पाडीको जन्मदर्ता गर्छौं ।” उहाँका अनुसार चालू आवको हालसम्म रु आठ लाख सुत्केरीभत्ता वितरण गरिएको छ ।
सापकोटाका अनुसार नगरमा हाल चार हजार ६४७ भैँसी छन् । नगरले तीन वर्षमा १० हजारभन्दा बढी भैँसी पुरयाउने लक्ष्य राखेको छ । नगरभित्र दैनिक ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय