
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार काठमाडौँमा आयोजित नेका महासमिति बैठकको उदघाटन समारोहमा तस्वीर प्रदर्शनी गर्दै । तस्वीर – चन्द्रकला क्षेत्री,रासस
काठमाडौँ, २९ मङ्सिर – सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक अहिले शुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गर्नुभएको हो ।
सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ ।
उद्घाटन मञ्चको अग्रभागमा अग्रज स्वर्गीय नेताहरु बिपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्वीर राखिएको छ ।
‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारा रहेको महासमिति बैठक आगामी पुस ३ गतेसम्म चल्नेछ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको काङ्ग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई आदर्शका रुपमा अघि सार्दै आएको छ । काङ्ग्रेसको यो महासमिति बैठकलाई अन्य राजनीतिक दलले पनि निकै चासोका साथ हेरिरहेका छन् ।
बैठकमा सबै निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक सहभागी छन् ।
मञ्चको अग्रभागमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, कुलबहादुर गुरुङ, नरहरि आचार्य, सुजाता कोइरालालगायतका नेता रहनुभएको छ ।
बैठकको प्रवेशद्वार अगाडि नेपाली काङ्ग्रेसको स्थापनाकालदेखि हालसम्मका महत्वपूर्ण घटनाक्रमसँग सम्बन्धित नेताहरुको तस्वीर अवलोकनका लागि राखिएको छ । बैठक उद्घाटनस्थल वरपर काङ्ग्रेसका झण्डा र आदर्श नारा लेखिएका फ्लेक्स टाँगिएका छन् । उद्घाटनलगत्तै शुरु हुने बन्दसत्रमा विभिन्न पाँच विषयका दस्तावेज पेश हुनेछन् ।
बैठकमा उपसभापति निधिले राजनीतिक, महामन्त्री डा कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नु हुनेछ ।
विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ ।
पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र चल्नेछ । बैठक स्थलबाट नेपाल टेलिभिजनलगायतका सञ्चार माध्यमले प्रत्यक्ष प्रशारण गरिएका छन् । २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो ।
पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने काङ्ग्रेसजनको अपेक्षा छ । बैठकस्थल वरपर काङग्रेसका शुभेच्छुक र कार्यकर्ताको ठूलो सङ्ख्यामा उपस्थिति छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार