बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको चौथो बिम्स्टेक शिखर सम्मेलनको समीक्षा बैठकमा सहभागी मन्त्रीहरु । तस्बिर – रासस

काठमाडौँ, १८ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उहाँले निर्देशन दिनुभएको हो ।

सम्मेलनबाट जारी घोषणापत्रमा गरीबी निवारण, यातायात र सूचना प्रविधिको सम्पर्क र सञ्जाल विस्तार, वातावरण, ऊर्जा, प्रविधि र प्राकृतिक प्रकोपको व्यवस्थापन, मत्स्य र कृषिपालन, जनस्वास्थ्य, सांस्कृतिक समन्वय, पर्यटन, हिमाल र समुद्र नथा नदीनालाको अर्थतन्त्र (माउन्टेन एण्ड ब्लु एकोनोमी) आदि उल्लेख गरिएको छ ।

बिम्स्टेक सम्मेलन समापनपछि पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले बिम्स्टेक र सार्क राष्ट्रका गतिविधि समान रुपमा र सक्रियतापूर्वक अगाडि बढ्ने जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

गोष्ठीमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको सम्मेलनस्थल प्रयोग गर्न नसकिएको र पर्याप्त बुलेटप्रुफ गाडीसमेत नभएको स्थितिमा सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सर्वसाधारण, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी एवं सञ्चारकर्मीले पुरयाएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “बिम्स्टेक सम्मेलन आयोजना र निर्णय दुबैका दृष्टिले फलदायी भएको छ ।”

प्रधानमन्त्री ओलीले नेपालमा उत्पादित विद्युत् अन्य देशलाई बिक्री गर्न विद्युतीय ग्रिड चाहिएको उल्लेख गर्दै यस विषयमा काम गर्न जल ऊर्जाको क्षेत्रमा सहयोगको आदानप्रदान गर्ने निर्णय सम्मेलनमा भएको छ भन्नुभयो ।

“जल ऊर्जाको विषयमा भारत र बङ्गलादेशसँग विशेष रुपमा केन्द्रित भएर छलफल भएको छ, जसबाट भारत, बङ्गलादेश र म्यानमार मात्र नभई भविष्यमा थाइल्याण्डसम्म बिजुली निर्यात गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “नेपाल र नेपाली जनताको हितलाई सर्वोपरि ठानेर बिम्स्टेकमा छलफल गरी घोषणापत्र जारी गरिएको छ ।”

प्रधानमन्त्री ओलीले बिम्स्टेक वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर न्यायोचित रुपमा काम गर्छौं भन्नुभयो ।

बिम्स्टेक सम्मेलनमा अहोरात्र मिहिनेत गर्ने सम्बन्धित मन्त्रालय र सरकारका सबै निकायलाई धन्यवाद ज्ञापन गर्दै उहाँले “खासगरी सवारी आवागमन सहेर पनि शिखर सम्मेलन सफल पार्न योगदान गर्ने उपत्यकावासी नेपाली जनताप्रति आभार प्रकट गर्दछु, आमसञ्चार माध्यमलगायत सबैप्रति धन्यवाद व्यक्त गर्दछु”, भन्नुभयो ।

बिम्स्टेक सफल – देउवा

नेपाल प्रेस युनियन चितवन शाखाले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर- नारायण अधिकारी
चितवन, रासस

चितवन – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिनुभयो ।

बिम्स्टेकका कारण सार्कको महत्व नघटेको चर्चागर्दै उहाँले सार्कको पनि आफ्नै महत्व रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले संयुक्त सैन्य अभ्यास सहमतिबमोजिम गरिनुपर्ने बताउनुभयो ।

चिकित्सक सङ्घका जायज माग पूरा गर्नुपर्ने बताउनुभएका उहाँले मुलुकी संहितालाई जनचाहनानुसार परिवर्तन गर्न सकिने जानकारी दिनुभयो, “संविधान होस् या संहिता जनचाहनानुसार सुधार गर्न सकिन्छ । सबै मिलेर सुधार गर्दै जानुपर्छ,” सभापति देउवाले भन्नुभयो ।

प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश लगाउन नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रेस पूर्णरुपमा स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता हो र हुन्छ पनि ।” सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिनुभएका सभापति देउवाले मुलुकभर महिला हिंसाका घटना बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र कञ्चनपुरमा बालिकामाथि बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकरको कमजोरी हो भन्नुभयो ।अवैज्ञानिक ढङ्गले बढाइएका करका कारण जनता सताइएकाले त्यस्ता कर घटाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री