लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरु यो सप्ताहन्त वेल्समा भेला भए । नेपलिज डक्टर्स असोसिएसन यूकेको शुक्रबार देखि आइतबारसम्म चलेको ३३ औं वार्षिक बैठकमा विभिन्न देशबाट एकत्रित भएका चिकित्सकहरुले कयौं सेसनमा स्वास्थ्यसम्बन्धि प्रिजेन्टेसन दिए । विशेष गरि जनचासोका मुटु, दांत, डायबेटिज, सर्जरी, एनेसथेसिया, हाड जोर्नी, इएनटी आदिमा सम्मेलन केन्द्रित भएको हो ।
सम्मेलनको अन्तिम दिन आफ्नो सीप र ज्ञान नेपालमा स्थानान्तरणबारे समेत चर्चा भयो । असोसिएसन अध्यक्ष डा. सविन जोशीका अनुसार, उक्त सम्मेलनले विश्वका विभिन्न देशमा गठित नेपाली चिकित्सकहरुको छाता संगठनको रुपमा एउटा ग्लोबल कमिटी बनाउने सहमति गरेको छ । ‘विदेशमा जहां कार्यरत भएपनि हामीमा आफ्नो मातृभूमिको समृद्धि र स्वास्थ्य सुधारको चिन्ता पक्कै छ’, अध्यक्ष जोशीले भने, ‘हामी नेपाल सरकारलाई नीति निर्माणको तहमा सहयोग गर्न तयार छौं । सीप र ज्ञान स्थानान्तरण गर्न हामी उत्सुक छौं ।’
नेपालमा चिकित्सक नर्सहरुको भ्यालिडेसन, क्वालिटी कन्ट्रोल र ‘कन्फ्लीक्ट अफ इन्ट्रेस्ट’ भएन भने स्वास्थ क्षेत्रले सुधार गर्न सक्ने जोशीको बुझाइ छ ।
भेलामा विशेष आकर्षण थिए नेपालबाट आएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, मृत मुटु सफलतापूर्वक प्रत्यारोपण गरि चर्चा बटुलेका अष्ट्रेलिया निवासी डा. कुमुद धिताल, अमेरिका नेपाल मेडिकल फाउण्डेसनका बोर्ड सदस्य डा. सुवोध मल्लिक, डा. बोग्दान नुटा, डा. तुसार रेइना, अर्थोपेडिक सर्जन डेभिड जोन्स आदि ।
३१ वर्षपछि ‘कि नोट स्पिकर्स’ का रुपमा सम्मेलनमा बेलायत आएका डा. कोइरालाले प्रविधि, जनशक्ति र क्षमताको तुलनामा नेपाल बेलायत र अन्य विकसित देश भन्दा धेरै पछाडि रहेको धारणा राखे । ‘नेपालका चिकित्सकहरुमा पनि पर्याप्त सीप छ, राज्य र निजी क्षेत्रको लगानी छ । तर, अझै स्वास्थ्य सेवा परिस्कृत गर्न र अन्तर्राष्ट्रिय स्तरमा लैजान नेपालमा नयां प्रविधि भित्रयाउन जरुरी छ’, उनले भने ।
बेलायतस्थित नेपाली वा विदेशी चिकित्सकहरु नेपालमा क्षमता अभिवृद्धि, प्रविधि र ज्ञान हस्तान्तरणमा एकदम सहयोगी हुन सक्ने बताउंदै कोइरालाले काम नगरि विदेशी र विदेशका नेपालीले मात्र गर्छन् भन्ने अपेक्षा चाहिं गर्न नहुने बताउंछन् । ‘हामीलाई अप्रेसन गर्न सिकाउनु पर्दैन, गुणस्तर मापन र व्यवस्थापन हामी आफैं गर्न सक्छौं, कपी पेस्ट चाहिन्न’, उनले भने, ‘तर, यहां भर्खर आएका अत्याधुनिक प्रविधि हामीलाई झन उपयागी हुन सक्छ । नेपालमा त यो दश वर्षपछि मात्र लाने हो भन्यो भने हामी झन् पछाडि परिन्छ ।’
डा. कुमुद धिताल आफ्नो पनि नेपालमा काम गर्ने तीव्र इच्छा भएको बताउंछन् । ‘मैले यति धेरै कोशिस गरेको छु, कयौं मन्त्रीहरुसंग बसेर यस्तो कार्यक्रम ल्याउं भनेर सुझाव पनि दिएको हो तर सुन्दै सुन्दैनन्’, उनले भने, ‘नेपाल भन्दा बरु अरु मुलुकले मेरो कुरा सुन्छन्, कार्यान्वयन गर्छन् । पहिला सरकारले कार्यक्रम ल्याएर अनि यस्तो मान्छे मलाई चाहियो कहां छ खोजी गर्ने हो ।’
डा. धितालले ‘डेड ब्रेन’ प्रत्यारोपण नेपालमा सहज नभएको बताए । ‘अष्ट्रेलिया जस्तो आर्थिक उन्नति गरेको मुलुकमा त सरकारले यो कार्यक्रममा एक पैसा हालेको छैन्’, उनको भनाइ थियो, ‘मेरा साथीभाइ, च्यारिटेबल फाउण्डेशन लगायतको सहयोगले यो प्रत्यारोपण सम्भव भएको हो ।’
नेपालमा शुरुमा मामुली प्रत्यारोपण नै गर्न उनको सुझाव छ । ‘प्रत्यारोपणमात्र ठूलो कुरा होइन’, उनले भने, ‘प्रत्यारोपणपछि विरामीलाई सुविधा, प्रोटोकल, सिस्टम नभएसम्म यस्ता कार्यक्रम नेपालमा गर्न असम्भव छ ।’
सम्मेलनको दोश्रो दिन शनिबार दुई चरणका सेन्टिफिक सेसनमा मुटु रोग सम्बन्धि प्रिजेन्टेसन भयो । यस सेसनमा डा. कोइराला, डा. धिताल, डा. बोग्दान नुटा, डा. तुसार रेइना र डा. पूर्णराज जोशीले मुटु रोग, यसको उपचार प्रविधि, नेपालमा मुटु रोग र उपचारमा भएका विकासक्रम आदि आयामबारे जानकारी दिएका थिए ।
दोश्रो चरणको सेन्टिफिक सेसनमा डा. धिरज त्रिपाठी, डा. अनिल गुरुङ, डा. राजु सापकोटा र डा. भाद्री सुवेदी कि स्पिकर्स थिए जसको अध्यक्षता डा. पारस सिंह र डा. सुधीर लोहनीले गरे । यही सत्रमा बेलायतका पहिलो नेपाली वित्तिय सल्लाहकार (इन्डिपेन्टेन्ट फाइनान्सियल एडभाइजर) मिन दर्लामीको प्रस्तुति समेत थियो । ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका निर्देशक दर्लामीले इन्हेरिटेन्स टयाक्स एण्ड होलिस्टिक फाइनान्सियल प्लानिङबारे प्रिजेन्टेसन दिए ।
शनिबारै असोसिएसनको वार्षिक साधारण सभा समेत भएको थियो । सांझ असोसिएसनका महासचिव डा. कमल अर्यालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न वक्ताहरुले धारणा राखे ।
बेलायतको नेपाली समुदायमा त्यति घुलमिल नहुने आरोप खेपेको असोसिएसनले नेपालमा भने स्वास्थ्य शिविर, वर्कसप तथा मानवीय सहायता सम्बन्धि उल्लेख्य काम गरिरहेको छ । सन् १९८५ मा स्थापित उक्त संस्थाले नियमित च्यारिटी गरि संकलित रकम नेपालमै खर्च गर्ने गरेको उपाध्यक्ष डा. रमेश खोजुले जानकारी दिए ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा