काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता यही साउनभित्र हुने भएको छ भने प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने देखिएको छ । पार्टी सचिवालयबाट विधान र नियमावली पारित हुनमा ढिलाइ भएका कारण एकता घोषणाका दिन सार्वजनिक गरिएको तीन महिनाको अवधिमा सबै तहको एकता प्रक्रिया पूरा नहुने भएको हो ।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भई नेकपा घोषणा हुँदा तीन महिना (भदौ ३) भित्र आधारभूत तहसम्म एकता गरिसक्ने जनाएकामा पार्टीको विधान र नियमावली तय नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन । नेकपा स्थायी कमिटीको सुझावका आधारमा यही साउन १ गतेको सचिवालय बैठकले विधान र नियमावलीलाई सम्पादनसहित प्रकाशनको निर्णय गरेअनुसार विधान र नियमावली तल्ला कमिटीमा जान थालेका छन् ।
पार्टीले सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनमा यसअघिको जिम्मेवारीमा रहेका इञ्चार्ज, सहइञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्षहरु रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिएको थियो । विधान र नियमावालीको अभावमा ती कार्यदलले निर्णय गर्न सकेका थिएनन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मातहतको एकता प्रक्रिया तुरुन्त थाल्न विधान र नियमावली पठाइएको र पार्टीले चाँडै त्यससम्बन्धी समयबद्ध कार्यतालिका तय गर्ने जानकारी दिए । उनले भने, “सहमति र संगठनात्मक स्थितिका आधारमा कमिटीमा रहने सदस्यको नाम सिफारिश गर्न ती कार्यदललाई जिम्मेवारी दिएका छौँ । अब चाँडै कुन कमिटीको कहिलेसम्म एकता गरिसक्ने भन्ने मिती तय हुनेछ ।”
उनका अनुसार पार्टीको प्रदेश कमिटी सचिवालय र जिल्ला कमिटी प्रदेश कमिटीले चयन गर्नेछ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमतीको स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएपछि कार्यव्यस्तताले पार्टीको विधान र आन्तरिक विषयमा छलफल हुन ढिलाइ भएको थियो ।
जनसंगठनको एकता साउनभित्र
नेकपामा आबद्ध विभिन्न २२ जनसंगठनलाई यही साउन महिनाभित्र एकता गरिसक्न पार्टीले सम्बन्धित कार्यदललाई जिम्मेवारी दिएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार कार्यदलको सुझावका आधारमा साउनभित्र जनसंगठनको एकता पूरा हुनेछ ।
ती जनसंगठनको एकताका लागि गठित कार्यदलले सम्बन्धित दुवै कमिटीको केन्द्रीय कमिटीमा एक चरण छलफल गरी विधान, संगठनको नाम र सम्भावित संगठन संरचनाबारे राय, सुझाव लिइसकेका छन् । इञ्जिनियरिङ पेशाकर्मीको संगठनको एकता घोषणा गत शनिबार भइसकेको छ ।
सचिव श्रेष्ठले प्रदेश, जिल्ला र स्थानीय तहसम्मको एकताका लागि विधान र नियमावली जारी भएको मितीले तीन महिनाभित्र काम सक्ने गरी तयारी भएको बताए । पार्टी एक भइसकेकाले संगठनात्मक पक्षको एकताका लागि केही समय लागेमा कुनै समस्या नपर्ने दाबी गर्दै श्रेष्ठले अधिकतमरुपमा दशैँअगावै एकतासम्बन्धी सबै कार्य पूरा हुने बताए ।
‘संसदीय सुनुवाइबारे पार्टीगत निर्णय छैन’
नेकपाका प्रवक्ता श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइका सम्बन्धमा पार्टीले कुनै निर्णय नगरेको र उक्त विषय संसदीय सुनुवाइ समितिको कार्यक्षेत्र भएको बताए ।
नेकपाले जोशीको नामलाई समितिबाट अनुमोदन नगराउने भनी सञ्चारमाध्यममा आएको सम्बन्धमा श्रेष्ठले भने, “समितिमा रहेका पार्टीका सदस्यलाई कुनै निर्देशन दिइन्नँ, उहाँहरुले आवश्यकता र औचित्यताका आधारमा विवेकका साथ निर्णय लिनुहुनेछ ।”
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय