लन्डन । चार वर्षपछि बेलायत आउंदा महानायक राजेश हमाल अलिक भिन्न जिम्मेवारीमा थिए । कला थिएन, एक्सन थिएन । उनका लागि बेलायत पानी पधेंरो भएपनि यसपटक फरक अनुभूति गर्दै थिए नेपाली सिनेमाका एकजना हस्ती । ‘कलाकारको नाताले बेलायतका नेपालीसंग आत्मीयता सांट्न पाउंदा खुशी लागेको छ’, बेलायतको टिडवर्थमा ‘म अनि मेरो मातृभूमि’ विषयक अन्तरक्रियाका प्रमुख आकर्षण हमालले शुरुमै भने, ‘मातृभूमिप्रति यहांहरुको साथ सहयोग प्रशंसनीय छ । नेपालीको प्रगति सुनेर झन् गर्व लाग्छ ।’
हमाल बेलायतको यस्तो ठाउंमा थिए, जहां नेपाली आएर बसोवास गरेको पहिलो शहर मानिंदो रहेछ । गोर्खाहरुको विशेष सम्वन्ध रहेको शहर पनि हो टिडवर्थ । ‘नेपाली डायस्पोरा विश्वभर छरिएर बस्न थालेको भर्खर भर्खर हो’, हमालले सुनाए, ‘विदेश जहां बसेपनि मनोविज्ञान र भावना आफ्नै राष्ट्र र समाजसंग गांसिएको हुन्छ ।’
विदेशका नेपालीले मातृभूमिको समृद्धि र समुन्नत समाजका लागि उल्लेखनीय काम गरेको धारणा उनले राखे । ‘राज्यले स्वीकारोस् नस्वीकारोस्, पछिल्लो करिब तीन दशकमा नेपालको आर्थिक उन्नति, जीवनस्तर र दैनिकी परिवर्तन गर्न विदेशिएका नेपालीको ८० प्रतिशत योगदान छ’, तथ्यांक पेश गर्दै थिए उनी ।
कलाकारिता गफ भन्दा प्रेरणादायी मन्तव्यमा बढि केन्द्रित रहे अभिनेता हमाल । टिभी सेलिब्रेटी दिलभुषण पाठक र सहभागीका असंख्य प्रश्नको सामना गर्दै थिए उनी । सहभागी कसैले ‘हाइपोथेटिकल’ प्रश्न सोध्यो, ‘एक साताका लागि प्रधानमन्त्री बन्नु भयो भने प्रवासी नेपालीलाई के गर्नुहुन्थ्यो ?’ हमालले जवाफ दिए, ‘प्रवासी नेपालीको मातृभूमिसंग सशक्त भावना जोडिएको छ । आपतविपतमा धेरै सहयोग गरेका छन् । म उनीहरुमा ‘एकपटकको नेपाली सधैंको नेपाली’ फिल गराउन लाग्थें ।’
पहिलो पुस्तामा जस्तो नेपालीपन छ, त्यो भावना आउंदो पुस्तामा पनि जगाउन जरुरी रहेको उनले जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको नेपाली समुदायले नेपाल र नेपालीको पहिचान, आर्थिक समृद्धि, विकास, स्थायित्व र स्वाभिमानका लागि सधैं चिन्तन, चिन्ता र चासो लिइरहेकामा हर्ष एवं गौरव महशुस भएको उल्लेख गरे । उनले बेलायतको नेपाली समाज संगठित, सुदृढ, सुविचारित, सुशिक्षित र मातृभूमिको संकटमा सधैं साथ दिइरहेको भन्दै प्रशंसा पनि गरे ।
देशले राजनीतिक स्थायित्वको गति पक्रिसकेकाले परदेशमा बसेर निरास वा देश अंध्यारोमा छ भनेर अब चिन्ता लिनु नपर्ने राजदूतको धारणा थियो । ‘नेपाली भन्नेमात्र होइन, नेपाली बन्नु पनि पर्छ’, राजदूतले भने, ‘नेपाली बन्न नेपालीपन र नेपालीमन जोगाउनुपर्छ । नेपाली भएर बांच्न र हांस्नका लागि नेपाल पनि रहनुपर्छ ।’
एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्यले विदेश आएपछि मातृभूमिको माया झन् बढि लाग्ने अनुभव सांट्दै विश्वका ७८ मुलुकमा रहेको एनआरएनए सञ्जाल देशकै समृद्धिको सपना पुरा गर्न कटिवद्ध रहेको बताए । आचार्यले सरकारले विदेशी नागरिकता लिएपनि नेपाली नागरिकता कायम राख्न पाउनु पर्ने वातावरण सृजना गरि लगानी आकर्षित गरे मातृभूमिसंगको माया कहिल्यै नटुट्ने धारणा समेत राखे ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरणले संविधानमा दोहोरो नागरिकताको प्रावधानबारे प्रष्टयाउंदै यसमा प्रवासका नेपालीलाई अवमुल्यन गर्ने नीति कहीं नभएको जनाए ।
एनआरएनए यूके युवा विभागले गरेको उक्त कार्यक्रममा ‘प्यानलिष्ट’ का रुपमा रहेका एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले बेलायतका नेपालीको पृष्ठभूमिबारे जानकारी दिंदै हरेक पेशा र व्यवसायमा नेपाली स्थापित हुंदै गएका बताए ।
एनआरएनए यूके महासचिव आर के त्रिपाठीले सञ्चालन गरेको पहिलो सत्रको कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक डमर घले, कार्यक्रम एवं एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङ लगायतले बोलेका थिए । युवा संयोजक गुरुङले बेलायतवासी नेपाली युवालाई मातृभूमिसंग जोडिराख्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्रष्टयाए । उपाध्यक्ष पुनम गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् भने स्थानीय सूर्य गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रिफ गरेका थिए । ज्ञाम गुरुङ, मिन गुरुङ, चन्द्र गुरुङ, थर्क सेन, पृथ्वी गुरुङ, ध्रुबराज अर्याल, विश्वनाथ कंडेल, कोपिला सुब्बा, बुद्ध बराइली लगायतले आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रमको अन्त्यमा एनआरएनए यूके प्रमुख संरक्षक डमर घले र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले विशेष अतिथी अभिनेता हमाल, मिडिया सेलिब्रेटी दिलभुषण पाठक, उर्जा विज्ञ विश्वनाथ कंडेललाई टोकन अफ लभ प्रदान गरे ।
कार्यक्रममा एनआरएनए अगुवा भनिने व्यक्तिहरुकै लामो मन्तव्यले समय गुज्रेपछि महानायक हमाल र सञ्चारकर्मी पाठकका भनाइ कम सुन्न पाएर सहभागी आक्रोशित भएका थिए । प्रसंग बाहिरका व्यक्तिलाई बोल्न दिएर एनआरएनए यूकेले समय र कार्यक्रमको महत्व कहिल्यै नबुझेको आरोप समेत खेप्नु परेको थियो ।
तस्विर- शिव भण्डारी
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा