
कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक अम्बिकाप्रसाद
रेग्मी । तस्विर-रमेश गिरी, भक्तपुर, रासस
काठमाडौँ, १७ असार – माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ ।
पाँच दिनअघि गठित समितिले आज प्रतिवेदन बुझाएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट अम्बिकाप्रसाद रेग्मीलाई कारबाहीस्वरुप मन्त्रालयमा काजमा तानिएको छ भने अर्को व्यवस्था नभएसम्मका लागि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रक तोकिएको छ ।
मन्त्री पोखरेलले रासससँग भन्नुभयो, “विस्तृत प्रतिवेदन अध्ययनपछि थप कारबाही गरिनेछ, अहिलेलाई नियन्त्रकलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको छ ।” समितिको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गरेको छैन । नियन्त्रकभन्दा माथि वा तल्लो तहका अन्य कर्मचारी कारबाही हुने हो, होइन स्पष्ट छैन भने नियन्त्रकको सरुवा मात्र हो वा कारबाही हो भन्ने मन्त्रालयले स्पष्ट पारेको छैन ।
मन्त्रालयले यही असार ११ गते शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहनुभएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट यही असार ९ गते प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्व प्रकाशित परीक्षाफलमा केही परीक्षार्थीहरुको मूल अभिलेखबमोजिम परीक्षाफल संशोधन गरिएको थियो ।
उक्त नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न र आगामी दिनमा त्यस प्रकारको समस्या नै आउन नदिन अवलम्बन गर्नुपर्ने उपायहरुसमेत समितिले पेश गरेको बुझिएको छ ।
कारबाहीस्वरुप सरुवा गरिएका नियन्त्रक रेग्मीले आफूलाई औपचारिक कुनै जानकारी नआएको जनाउँदै नेपाल सरकारले गर्ने निर्णय शिरोपर हुने प्रतिक्रिया दिनुभयो ।
अक्षरांकन प्रणालीको उक्त परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थी सहभागी भएकामा परीक्षाफल सार्वजनिक भएको दिनको भन्दा भोलिपल्ट कतिपय विद्यार्थीहरुको ग्रेड पोइन्ट एभरेज र ग्रेडसिट सुधारसहित संशोधन भएपछि प्राविधिक त्रुटि बाहिर आएको थियो ।
परीक्षा बोर्डले ग्रेड सुधारका लागि मौका परीक्षाको तयारी गरिरहेको बेला नियन्त्रक परिवर्तन भएको छ भने नियन्त्रण कार्यालयले मौका परीक्षा सञ्चालनका लागि बोर्डलाई आग्रह गरिसकेको छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ