काठमाडौँ-राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्ने भएका छन् । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउनेछन् ।
अर्थमन्त्री डा युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । निर्वाचनको अङ्गकै रुपमा गोलाविधिद्वारा समयावधि निर्धारण कार्यक्रमलाई लिइन्छ ।
यसका लागि संघीय संसद् सचिवालयले महासचिवको संयोजकत्वमा आन्तरिक समिति र कार्यविधिसमेत बनाएको छ । अाइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सचिवालयका उपसचिव दशरथ धमलाले सोमबार बिहान ११.३० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गोलाविधिद्वारा समय निर्धारण हुने कार्यक्रम शुरु हुने जानकारी दिए ।
यस्तो हुनेछ चयन प्रक्रिया
धमलाका अनुसार संविधानानुसार पाँच समूहमा राष्ट्रियसभाका सदस्य विभाजन गरिनेछ । पहिलो समूहमा सातै प्रदेशका तीन तीन गरी गरी २१ महिला सदस्यले गोलाप्रथा कार्यक्रममा भाग लिई समय निर्धारण गर्नेछन् ।
यसपछि सातै प्रदेशका एक एक गरी सात दलित सदस्य, सात अपाङ्गता भएका वा अल्पसंख्यक समूहका सदस्यले गोलाप्रथामा भाग लिने कार्यक्रम तय गरिएको छ । यसपछि अन्य समूहमा सातै प्रदेशका तीन तीन गरी कूल २१ र राष्ट्रपतिद्वारा मनोनीत तीन सदस्यले गोला छनोट गरी आफ्नो ‘भाग्य’ आफैं निर्धारण गर्नुहुनेछ ।
गोलाप्रथामा सचिवालयले वर्णानुक्रमानुसार भाग लिने व्यवस्था मिलाएको छ । गोलाप्रथा विधिद्वारा राष्ट्रियसभाका ५९ सदस्यमध्ये २० जनाको छ वर्ष, २० जनाको चार वर्ष र १९ जनाको पदावधि दुई वर्ष हुनेछ । गोलाप्रथा छनोट गर्न सचिवालयले सेतो कागजमा रातो अक्षरमा दुई, चार र छ वर्ष लेखेर तयार पारेको छ । सो कागजलाई बट्टाभित्र राखी बन्द गराउने र यसपछि सांसदलाई झिक्न लगाई वर्ष तय गर्ने विधि तयार गरिएको छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार