काठमाडौँ, १५ जेठ – सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्रयाउने महत्वाकांक्षी लक्ष्य राखेको छ । पर्यटन क्षेत्रको प्रवर्धन गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो विषय समेटिएको हो ।
यसअघि सरकारले सो अवधिमा १५ लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो पदबहालीका क्रममा सो घोषणा गर्नुभएको थियो । तर बजेटमा भने २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
सरकारले सो अभियानलाई नेपाल भ्रमण वर्ष २०२० मनाउने लक्ष्य राखेको हो । यसअघि सन् १९९८ मा समेत नेपाल भ्रमण वर्षका रुपमा मनाएको थियो । विभिन्न प्रवर्धनात्मक अभियानका कारण सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
‘सरकारले भौतिक पूर्वाधारको विकासमा जोड दिँदै पर्यटकीय पूर्वाधारमा लगानी बढाउने लक्ष्य राखेको सरकारले नेपाल नै पहिले’ भन्ने नारालाई समेत बजेटमा स्थान दिएको छ ।
आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखेको सरकारले पहिले नेपाल अनि मात्र विदेश भन्ने अभियानसमेत सञ्चालन गर्न लागेको हो ।
पर्यटनबाट आयआर्जन र रोजगारी बढाउन मनोरञ्जन प्राकृतिक, पूरातात्विक ऐतिहासिक र धार्मिक तथा साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवर्धन तथा सेवा सुविधाको विस्तार गर्ने लक्ष्य राखेको छ ।
विशेषगरी भारत र चीनका पर्यटक भित्रयाउने लक्ष्यका साथ सरकारले ती देशमा प्रवर्धनात्मक कार्यक्रमसमेत सञ्चालन गर्ने बजेटमा लक्ष्य राखिएको छ । चीन र भारतका करीब अढाइ खर्ब जनसंख्यामध्ये १० प्रतिशतले मात्रै नेपाल भ्रमण गरे त्यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभावपर्ने लक्ष्यका साथ छिमेकी देशलाई पहिलो प्राथमिकतामा राखेको हो ।
सीमित समयको पर्यटनलाई बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था गरिएको छ । भारत र चीन लक्षित पर्यटन प्रवर्धनको कामलाई तीव्रता दिने लक्ष्य राखिएको छ ।
हिमाल आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य बजेटमा राखिएको छ । सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि रु पाँच अर्ब २० करोड ३४ लाख विनियोजन गरिएको छ ।
सरकारले हवाई क्षेत्रको विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । यसमा निजगढ विमानस्थलको निर्माण प्रक्रिया शुरु गर्नेदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई शीघ्र सम्पन्न गरी अगाडि बढाउने लक्ष्य राखिएको छ ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा आन्तरिक विमानस्थलको स्तारोन्नति गर्ने लक्ष्य राखिएको छ । सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने लक्ष्यसमेत बजेटले राखेको छ ।
मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय बनाउन उच्चतम् प्रविधिको प्रयोग र प्राविधिक जनशक्तिको विकास गरिनेछ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालन गरिने भएको छ ।
विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गरी छिमेकी मुलुकसम्म उडान शुरु गर्ने बजेटमा उल्लेख छ । आन्तरिक विमानस्थल निर्माणलाई तीव्रता दिइनेछ । दाङमा वैकल्पिक विमानस्थल निर्माण शुरु गर्ने सरकारको लक्ष्य छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई व्यस्थित गर्न काभ्रेपलाञ्चोकमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने भएको छ ।
आन्तरिक विमानस्थल विस्तार सम्बन्धमा गुरुयोजना तयार पारिनेछ । विपद् प्रभावित पर्यटक तथा अन्य व्यक्तिलाई आपत्कालीन उद्धार गर्न हेलिप्याड नपुगेका सबै स्थानीय तहमा स्थानीय तहले उपलब्ध गराउने जग्गामा हेलिप्याड निर्माण गर्ने लक्ष्य राखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बजेटमा उल्लेख गरिएका प्राथमिकतालाई कार्यान्वयन गर्न मन्त्रालयले हरसम्भव प्रयास गर्ने बताउनुभयो ।
रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “पूर्वाधार विकासको कामलाई तीव्रताका साथ अगाडि बढाउँदै भारत र चीन केन्द्रित पर्यटन प्रवर्धनमा विशेष जोड दिइनेछ ।”
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवं पर्यटन व्यवसायी दीपक महतले बजेट समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कार्यान्वयनमा सरकारले कति इच्छाशक्ति देखाउँछ सोही आधारमा मूल्यांकन गर्न सकिन्छ ।” उहाँले नेपाल पर्यटन वर्ष २०२० कार्यक्रम ल्याइनु र हवाई क्षेत्रको विकास र प्रवर्धन गर्नेसम्बन्धी योजना सकारात्मक रहेको बताउनुभयो ।
नेपाल पर्वतारोहण संघका महासचिव कूलबहादुर गुरुङले पर्यटन क्षेत्रमा अपेक्षा गरेअनुसारको बजेट नआएको गुनासो गर्नुभयो । पर्यटक बढाउनका लागि बजेट र पूर्वाधारका कामलाई कम महत्व दिइएको उल्लेख गर्नुभयो ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले सरकारले प्रस्तुत गरेको बजेट समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?