
जनकपुरधाम, २५ वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवर्धन गर्नु सो परियोजनाको उद्देश्य रहेको छ ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रवर्धन र विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप सो परियोजनाको शुभारम्भ हुन लागेको हो ।
भारतको पर्यटन मन्त्रालयबाट भारतभर दर्शन योजनाअन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट एक हो । यो परियोजनाभित्र अयोध्या, शृङ्गपुर, चित्रकुट, सीतामढी, बक्सर दरभंगा, नन्दीग्राम महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, रामेश्वरम्, हम्पी, नासिक र नागपुर समेटिने छन् भने नेपालतर्फ जनकपुरधामलगायत भगवान् राम र सीताको जीवनगाथासँग जोडिएको धार्मिक स्थलको विकास गर्ने लक्ष्य राखिएको छ ।
संस्कृतिविद् रामभरोस कापडीका अनुसार रामायण सर्किट परियोजना बृहत् रामायण कालको विस्तार नेपाल, भारत र श्रीलंकासम्म भएको पृष्ठभूमिमा आधारित परियोजना हो र यसमा राम र सीताको पाइलाले जहाँ–जहाँ स्पर्श गरेको छ ती क्षेत्रसँग जोड्ने प्रयास हो ।
जनकपुरधाम र अयोध्यालाई तीर्थाटनको सूत्रका रूपमा विस्तार गरिने सो परियोजनाभित्र प्राचीन पोखरी, मन्दिर, मिथिलाको विरासतको संरक्षण, रामायणकालीन तीर्थस्थललाई पर्यटनसँग आबद्ध गरी जनकपुर र अयोध्यालाई आर्थिक रूपमा सबल बनाउने मार्गचित्र कोरिएको छ ।
जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री हुने गरेका कारण पनि रामायण सर्किटले थप पर्यटकलाई आकर्षण गर्ने विश्वास गरिएको छ ।
जानकी नवमी, विवाह पञ्चमी र रामनवमी पर्वमा समेत जनकपुरधाम र अयोध्या तीर्थाटन गर्ने तीर्थालुका लागि महत्वपूर्ण स्थल हुन सक्ने गरी परिकल्पना गरिएको रामायण सर्किट परियोजनालाई सांस्कृतिक यात्राका रूपमा लिइने अपेक्षा गरिएको छ ।
प्राध्यापक डा महेन्द्रनारायण मिश्र रामायण सर्किटको पूर्ण विवरण सार्वजनिक नभइसकेको भएपनि यसको परिकल्पनाले रामायणकालीन सभ्यता र संस्कृति जीवन्त राख्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुहुन्छ ।
रामायण सर्किट परियोजना सम्पन्न भएपछि जनकपुरधाम र अयोध्याबीचको ६५० किलोमिटर भूखण्डमा कृषि, औद्योगिक, परिवहन र पर्यटन क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा