काठमाडौँ, २२ वैशाख – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
वाइ–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो ।
मासिकप्रति पाइलट आठ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी तीन पाइलट ल्याउन लागिएको निगमले जनाएको छ ।
वाइ १२ विमान उडाउनसक्ने तीन चिनियाँ पाइलट ल्याउने प्रक्रियामा रहेको र अन्य मुलुकबाट पनि पाइलट ल्याउन पहल भइरहेको निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिनुभयो ।
उहाँका अनुसार चीनका अलावा अफ्रिका र दक्षिण अमेरिकाबाट पनि वाइ १२ उडाउने पाइलट ल्याउने प्रक्रिया अघि बढेको छ ।
अफ्रिका र दक्षिण अमेरिकामा पनि वाइ १२ चलाउने पाइलट पाइन्छ भन्ने जानकारीका आधारमा त्यहाँ खोजी भएको हो । ‘एक-दुई जना पाइलट त्यहाँबाट पनि ल्याउने प्रक्रियामा छौँ, अहिले उनीहरुको लाइसेन्स र बायोडाटा मगाएका छौँ’- महाप्रबन्धक कंशाकारले भन्नुभयो ।
चिनियाँ पाइलटको भने लाइसेन्स ल्याएर नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमतिका लागि कागजपत्र बुझाइएको छ ।
छोटो अवधिका लागि करारमा चिनियाँ पाइलट ल्याउन लागिएको हो । नेपाली पाइलट तयार भए पनि उनीहरुलाई फर्काइनेछ । लामो समयसम्म उनीहरुलाई राख्दा खर्चभार महँगो हुने भएकाले नेपाली पाइलट तयार नभएसम्म मात्र चिनियाँ पाइलट राखिनेछ ।
चिनियाँ पाइलट सबै प्रक्रिया पूरा गरेपछि अबको एक महिनाभित्र आइपुग्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताउनुभयो ।
“चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा छ, अबको एक महिनाभित्र ती पाइलट नेपाल आउनेछन्,” उहाँले भन्नुभयो । अहिले निगमका नेपाली पाइलटले छदेखि आठ लाख तलब पाउने गरेका छन् ।
निगममा लामो समयदेखि पाइलट अभाव छ । अभाव पूर्ति गर्न हालै ४३ जना पाइलटको माग गरेकामा जम्मा ११ जनाको मात्र निवेदन परेको निगमले जनाएको छ ।
आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ विमान उडाउन समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न विमान उडानका लागि पाइलट करारमा राख्न आवेदन मागेको थियो ।
हालैमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएका सबै विमान तीन महिनाभित्र उडाउन निर्देशन दिनुभएको थियो ।
चिनियाँ विमान निगमलाई हस्तान्तरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
निगमका पदाधिकारीले सकेसम्म उक्त अवधिमा विमान उडाउन प्रयास गरिने बताएका थिए । तर अहिलेसम्म पनि पाइलटको टुंगो लागेको छैन ।
निगममा रहेका चार वटा वाइ १२ विमान उडाउनसक्ने दुई जना मात्रै पाइलट छन् । बाँकी दुई वाइ १२ विमान चल्न सकेका छैनन् ।
विसं २०६९ मा नेपाल र चीनबीच (दुई वटा एमए ६० र चार वटा वाइ १२) गरी छ वटा जहाज ल्याउने सहमति भएको थियो । अहिले छवटै विमान नेपाल आइसकेका छन् । छ विमानमध्ये दुई विमान वाइ १२ र एमए ६०, ९५६ सिट क्षमताका विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाइ १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ ।
निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । हाल निगमले देशका विभिन्न २३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको जनाएको छ ।
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता