लन्डनमा ‘भाया साक्रा’ माथि अन्तरक्रिया


लन्डन । साहित्य चौतारी यूकेले बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नवीनतम् नियात्रासङ्ग्रह भाया साक्रामाथि लन्डनमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा समीक्षक विजय सापकोटा, डा. रुपक श्रेष्ठ र वासु शर्माले कृतिका बारेमा आ-आफ्नो धारणा राखे ।

समालोचक विजय सापकोटाले धेरै समयपछि गहन विषयमा स्तरिय कृति नेपाली साहित्यमा आएको बताउंदै यस नियात्रासङ्ग्रहमा लेखकको अध्ययनको दायरा फराकिलो देखिएको उल्लेख गरे । उनले त्यस सङ्ग्रहबाट ज्ञान, विज्ञान, इतिहास, दर्शन आदिको अथाह जानकारी पाठकले पाउने कुरा समेत बताए ।

साहित्यकार डा. रुपक श्रेष्ठले भाया साक्रामा पोखिएको नेपाल राष्ट्र प्रेमको प्रशंसा गरे । उनले उक्त सङ्ग्रहमा डायोस्पोरिक चेत रहेको बताउंदै नियात्रासङ्ग्रहमा पनि डायोस्पोरिकता ल्याउन सक्नु लेखकको विशेष क्षमता भएको बताए ।

साहित्यकार वासु शर्माले युरोपियन देशको भ्रमणका बारेमा लेखिएको यात्रामा लेखक जतातै नेपाल खोज्दै र सम्झंदै हिंडेको सुःखद पक्षको चर्चा 
गर्दै भाया साक्राले शिक्षा मात्र होइन, आनन्द पनि दिने टिप्पणी गरे ।

नियात्राकार बजगाईंले आफूले विशेष मिहेनत र अनुसन्धान पश्चात भाया साक्रा लेखेको बताउंदै आगामी दिनमा अरु नयां विषयमा यस्तै खोजमूलक नियात्रा लेख्ने प्रण गरेका थिए ।

कार्यक्रममा साहित्यकार गोपी सापकोटा, दिनेश पौडेल, अर्कराज तिम्सिना, विजय हितानले पनि बोलेका थिए ।

साहित्य चौतारी यूकेले मासिक रुपमा बेलायतमा साहित्यिक अन्तरक्रिया, कविता वाचन आदि गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री