
रक्षामन्त्री ईश्वर पोखरेल बिहीबार बाराको निजगढमा राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई–मधेश दूतमार्ग (एक्सप्रेस–वे) को स्थलगत अवलोकनमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर सौजन्य – सैनिक जनसम्पर्क निर्देशनालय, रासस
निजगढ (बारा), ८ चैत – रक्षामन्त्री ईश्वर पोखरेलले बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई-मधेस द्रुतमार्ग’ को आज स्थलगत अवलोकन गरी समयमै काम पूरा गर्न निर्देशन दिनुभएको छ ।
चार वर्षभित्र सक्ने लक्ष्य लिइएको सो आयोजना मुलुकको समृद्धिका लागि अत्यावश्यक भएकाले आवश्यक पर्ने सबै स्रोत सामग्री जुटाउन तथा आइपर्ने समस्या फुकाउन नेपाल सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले आयोजना क्षेत्रसँग जोडिएका काठमाडौँ, ललितपुर, मकवानपुर र बाराका जनप्रतिनिधि तथा स्थानीयबासीको सहयोग लिएर तोकिएको समयमा काम सम्पन्न गराउन नेपाल सरकारका अन्य सम्बन्धित मन्त्रालय र निकायसँग तत्काल समन्वय बढाउनसमेत निर्देशन दिनुभयो ।
नेपाल सरकारले २०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयबाट सो आयोजना निर्माणको जिम्मा सेनालाई दिएको थियो भने २०७४ जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढमा त्यसको शिलान्यास गर्नुभएको थियो ।
ललितपुरको खोकनाबाट बाराको निजगढसम्म ७६ दशमलव २ किमी रहेको दक्षिण एसियालीस्तरको हुने सो मार्गको प्रगति बुझ्न मन्त्री पोखरेलसहित रक्षा मन्त्रालयका सचिव विनोद केसी, वन तथा वातावरण मन्त्रालयका सचिव युवकध्वज जिसी, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा र आयोजना प्रमुखसहितको टोली त्यस क्षेत्रमा पुगेको थियो ।
टोलीले निजगढ, बुदुने, लेनडाँडा, सिस्नेरी र मख्खुबेँसीस्थित सेनाको बेसक्याम्प र आसपासका क्षेत्रमा हवाई र पैदलमार्गबाट अवलोकन गरेको थियो । सो मार्गमा सेनाले २०६९ मा नमूना ट्र्याक खोलेको थियो ।
सो अवसरमा मन्त्री पोखरेलले राष्ट्रिय स्वार्थका लागि सानातिना स्वार्थ र फाइदाको पछि नलाग्न निजगढका स्थानीयबासीलाई आग्रह गर्दै आयोजनालाई प्रतिकूल असर पुग्ने कार्य नगर्न तथा स्थानीय सरोकारका बिषयलाई आपसी संवादबाट सहमतिमा पुग्न सकिने बताउनुभयो ।
स्थानीयबासीले सिँचाइ, खानेपानी, साना सडक र क्षतिपूर्ति रुख रोप्ने काममा सहयोग मागेका थिए ।
“नेपाली जनता विकासका कुरा मात्र गर्न चाहदैन्, विकास देख्न र भोग्न चाहन्छन्”–उहाँले भन्नुभयो, “आयोजनाको काम तोकिएको समयमा नै पुरा गर्न सक्नुपर्छ, सबै साना स्वार्थहरु ठूला स्वार्थको अधिनस्थ हुन्छन् तर सेनाले स्थानीय जनताको सरोकारलाई पनि पन्छाउने छैन ।”
चालू आवमा रु १० अर्ब बजेट रहेको सो आयोजनालाई समयमा पूरा गर्ने आफूहरुको संकल्प रहेको बलाधिकृत रथी थापाले बताउनुभयो ।
सेनाले हालसम्म आठ स्थानमा स्थायी बेसक्याम्पस निर्माण, रुख छपान र कटान, सडक निर्माण, सर्भिस ट्र्याक निर्माण, स्थानीयबासीलाई क्षतिपूर्ति र राहत वितरण तथा अन्य सामाजिक कार्य शुरु गरिसकेको छ ।
आयोजनाका लागि विभिन्न चट्टान फोर्ने विष्फोटक पदार्थको आपूर्ति, ठूला पुलको सर्वेक्षण, कतिपय क्षेत्रमा सञ्चार र विद्युतीकरणको सञ्जाल विस्तारका लागि सेनाले सरकारका अन्य निकायसँग समन्वय गरिरहेको छ ।
द्रुतमार्गको प्रारम्भमा पर्ने ललितपुरको खोकना, बुङमति, सैँबू, भैँसेपाटी क्षेत्रमा भने मुअब्जाको विवाद सल्टाउन बाँकी रहेको सेनाले जनाएको छ ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?