उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित

सघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार नवनिर्वाचित हुनुभएकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई बधाई तथा शुभकामना दिनुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्ड’ । तस्वीर – नवीन पौडेल, रासस

काठमाडौँ, २ चैत – प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) की शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उहाँले २०१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम) को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिनुभएको थियो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उहाँ निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।

यसअघि नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई तथा नेपाली काँग्रेसका डिला संग्रौला (पन्त) ले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । उपसभामुख तुम्बाहाम्फे कानुन व्यवसायीका साथै वाम आन्दोलनमा योगदान पुरयाएको व्यक्तित्व हुनुहुन्छ ।

यसअघि भएको मतदानमा भुसालका प्रस्तावका पक्षमा ६१ र विपक्षमा २०१ मत परेको थियो । मतदानमा २६२ सांसदको सहभागिता थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गते अपराह्न १ बजे बस्नेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री