काठमाडौं- नेपालले विश्व क्रिकेट काउन्सिल (आइसीसी) को एकदिवसीय राष्ट्रको मान्यता पाएको छ । जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको बिहीबार भएको प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेट पराजित गरेको नेपालले अर्को प्लेअफमा आफू अनुकूल नतिजा आएपछि आगामी चार वर्षका लागि वान डे अन्तर्राष्ट्रियको मान्यता पाएको हो ।
नेपाललाई एकदिवसीय मान्यता पाउन हङकङलाई नेदरल्याण्डसले पराजित गर्नुपर्ने थियो । यदि, हङकङले जितेको भए नेपालले हङकङसँग प्रतिस्पर्धा गरेर जितेमात्रै एकदिवसीय मान्यता पाउने थियो । तर, नेदरल्याडससँग हङकङ ४४ रनले पराजित भएपछि नेपालले एकदिवसीय स्टाटस पाएको हो ।
पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले ४८.२ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो । १ सय ७५ रनको विजयी लक्ष्य पाएको हङकङ ४३ ओभरमा १३० रनमै अलआउट भयो ।
हारसँगै हङकङले पनि एकदिवसीय स्टाटस गुमाउँदै डिभिजन दुईमा रेलिगेसनमा परेको छ । यसअघि नेपालसँग पराजित भएपछि पपुवा न्युगिनी पनि एकदिवसीय स्टाटस गुमाउँदै डिभिजन टुमा झरेको छ ।
नेपालले पहिलोपटक विश्व क्रिकेटमा एकदिवसीय स्टाटस पाएको हो । २२ वर्षमा अवधिमा नेपाली क्रिकेटले पाएको यो सबैभन्दा ठूलो र ऐतिहासिक सफलता हो ।
पपुवा न्युगिनीमाथि ६ विकेटको जित
नेपालले आफ्नो प्लेअफ खेलमा पपुवा न्युगिनीमाथि शानदार जित निकालेको थियो । युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरीको अलराउण्ड प्रदर्शनबाट प्रेरित नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । जिम्बाबेको हरारे मैदानमा सामेबार भएको आइसीसी एकदिवसीय छनोटको प्लेअफमा पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १ सय ६२ बल अगावै ४ विकेटको क्षतिमा पूरा गरयो ।
नेपालले टस जितेपछि पिएनजीलाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल बलरहरु हाबी भएपछि पिएनजी २७.२ ओभरमा अलआउट हुँदै १ सय १४ रन जोड्यो । जसलाई जवाफी ब्याटिङमा उत्रिएको नेपालले २३ आभेरमा २ विकेट गुमाउँदै पूरा गरयो । २३ आभेरको अन्तिम बलमा ६ रन आवश्यक रहेको अवस्थामा दीपेन्द्रले विजयी छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । नटआउट अर्धशतक प्रहार गरेको दीपेन्द्रले ५८ बलको सामना गर्दै ३ छक्का र १ चौका प्रहार गरे ।
उनले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गरेका थिए । जसले नेपाललाई विजयी लक्ष्य पछ्याउन सहज बाटो बनायो । आरिफ शेखले २६ रन जोडे । ४२ बलको सामना गरेका उनले १ चौका प्रहार गरे ।
कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै १८ बलमा २० रन जोडे । उनले २ चौका र एक छक्का प्रहार गरेका थिए । आज पनि नेपालको ओपनिङ भने राम्रो रहन सकेन । ज्ञानेन्द्र मल्ल १ तथा आकाश साह ९ रन पवेलियन फर्के । नटआउट रहेका रोहितकुमार पौडेलले ३ रन बनाए ।
जिम्बाबेका नोरमन भनुवाले २ विकेट लिए भने एली नाव र जोन रेभाको नाममा एक एक विकेट रहयो ।
यसअघि पहिले ब्याटिङ गरेको पिएनजीका कुनै पनि ब्याटसम्यानले राम्रो स्कोर बनाउन सकेनन् । उसका लागि चाल्र्स अमिनीले १९, जे सन किलाले १५ रन जोडे । यस्तै, सेसे बाउले ११ तथा टोनी उराले ११ रन जोडे भने किपलिप डोरिगा, असद भाला, चाड सोपरले १०-१० रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोडन सकेनन् ।
पिएनजीको ब्याटिङ लाइनअप धरासायी पार्ने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ४-४ विकेट लिए । यस्तै, सोमपाल कामी र करण केसीले १-१ विकेट बाँडे ।
पिएनजीमाथिको जितसँगै नेपाल आइसीसीको एकदिवसीय मान्यताको नजिक पुगेको छ । अब नेदरल्याण्डस र हङकङबीच जारी रहेको खेलमा नेदरल्याण्ड विजयी भए नेपालले अर्को खेल नखेल्दै एकदिवसीय मान्यता पाउने छ । यदि हङकङ विजयी भएमा नेपाल र हङकङबीच हुने अर्को खेलमा विजयी हुने टोलीले एकदिवसीय राष्ट्रको मान्यता पाउनेछ ।
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु