काठमाडौँ, १६ मंसिर – यहाँका उम्मेदवारले प्रादेशिक राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणलाई मुख्य चुनावी कार्यसूची बनाएका छन् ।
निर्वाचन क्षेत्र नं २ का उम्मेदवार प्रदेश राजधानीलाई आवश्यक प्रशासनिक भवन, चार लेन सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सिँचाइ, चक्रपथ र पर्यटन पूर्वाधारलगायत विषयलाई लिएर चुनावी मैदानमा होमिएका छन् । क्षेत्र नं २ अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाका १–१४ वडा, पञ्चपुरी नगरपालिका तथा चौकुने र बराहताल गाउँपालिका पर्छन् । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि विभिन्न दलका १० जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै हुने देखिएको छ ।
काँग्रेसका उम्मेदवार हृदयराम थानी सुर्खेत उपत्यका प्रादेशिक राजधानी बन्ने लगभग निश्चित भएको जनाउँदै यसको व्यवस्थित र आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुहुन्छ । पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री थानी भन्नुहुन्छ, “खानेपानीको उचित व्यवस्था, चार लेनको सडक र काँक्रेविहारको मन्दिर निर्माण, नेपालगन्जदेखि सुर्खेतसम्म सडक विस्तार कार्य अघि बढाइसकेका छौँ ।”
यस क्षेत्रका विकासका प्रमुख कार्य काँग्रेस नेतृत्वको सरकारले नै गरेको र आगामी दिनमा पनि काँग्रेसले मात्रै पहल गर्न सक्छ भन्ने जनतामा विश्वास भएको जिकिर गर्दै उहाँ आफू जित्ने उहाँको दाबी छ । विसं २०७० को संविधानसभा निर्वाचनमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसले जीतेको थियो । जनताकै साथमा रहेर विकासनिर्माणका काम गर्ने भएकाले यहाँका जनताले काँग्रेसलाई नै रुचाएको बताउँदै उहाँ भन्नुहुन्छ, “छोटा र गुणस्तरीय सडकमार्फत प्रदेश नं ६ लाई उत्तरी र दक्षिणी छिमेकी मुलुकका नाकासँग जोड्ने योजना अघि बढाएका छौं ।”
यसअघि तीन निर्वाचन क्षेत्र रहेको सुर्खेतमा यस पटक दुई क्षेत्र निर्धारण गरिएको छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवार चुनावी नारासहित गाउँगाउँमा पुगेर मतदाता आकर्षित गर्न व्यस्त छन् । यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज रावतले पनि प्रादेशिक राजधानीका लागि पूर्वाधार निर्माणलाई मुख्य चुनावी कार्यसूची बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “वीरेन्द्रनगरदेखि बेनीघाटसम्मको सडक, जिल्लाको पश्चिम भेगका जनतालाई विद्युत् सुविधा, चौकुनेमा सिमेन्ट उद्योग स्थापना, सुर्खेत उपत्यकामा चक्रपथ निर्माण, व्यवस्थित सहरी बसोबास, काँक्रेविहारको प्रवद्र्धन हाम्रा प्रतिबद्धता हुन् ।”
उम्मेदवार रावतले शिक्षा, स्वास्थ्य र जनतासँग प्रत्यक्ष रुपमा जोडिएका विषय, कृषिको व्यावसायिकीकरण र रोजगारीका कार्यक्रम आफ्ना प्रतिबद्धता भएको जानकारी दिनुभयो । एकातिर वाम गठबन्धन र अर्कोतिर विगतमा जित्ने नेताले खासै काम गर्न नसकेको आरोप लगाउँदै उहाँले अहिले एक चोटिलाई जनताले वाम गठबन्धनलाई हेर्न चाहेको जिकिर गर्नुभयो ।
मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम सुर्खेतमा प्रादेशिक राजधानी रहने सम्भावनाले स्थानीयवासी हर्षित छन् । क्षेत्रीय सदरमुकामका संरचना यसअघि नै निर्माण भइसकेकाले पनि सुर्खेतमा प्रादेशिक राजधानीका लागि अन्य प्रदेशको तुलनामा सहज हुने अनुमान गर्न सकिन्छ । आफ्नै गाउँठाउँमा राजधानीको सुविधा पाइने र पूर्वाधार बन्ने आशामा स्थानीयवासीले सोहीअनुसार धमाधम घर बनाउने, जग्गा किन्ने लगायत योजना बुनिरहेको देखिन्छ ।
यस निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा पनि काँग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन क्षेत्र नं २ को (क)मा काँग्रेसका कमलराज रेग्मी र एमालेका यामलाल कँडेल भिड्दै हुनुहुन्छ । त्यस्तै प्रदेश (ख)मा काँग्रेसका तर्फबाट सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट र वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । उहाँहरुका नारा पनि प्रादेशिक राजधानीका पूर्वाधार विकासमै केन्द्रित छन् ।
सुर्खेतको निर्वाचन क्षेत्र नं १ पूर्वी सुर्खेत हो । भेरीगंगा, लेकबेंसी र गुर्वाकोट नगरपालिका, चिङगाड र सिन्ता गाउँपालिकाका साथै वीरेन्द्रनगर नगरपालिकाका–१५ र १६ वडा यस क्षेत्रमा पर्छन् । जिल्लामा दुई लाख चार हजार ५७७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये क्षेत्र १ मा एक लाख एक हजार ६३७ तथा क्षेत्र २ मा एक लाख दुई हजार ९४० मतदाता छन् ।
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन