बम विष्फोट श्रृंखला रोकिएन

ललितपुरको लगनखेलस्थित ललितपुर बहुमुखी क्याम्पसको पूर्वतर्फ खाली ठाउँमा विष्फोट हुँदा क्याम्पसको झयालमा फुटेका शिशा । तस्बिर – रत्न श्रेष्ठ, रासस

दाङ, १२ मंसिर – नेपाली काँग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई लक्ष्य गरी यहाँ बम विष्फोट गराइएको छ ।

काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विष्फोट भएको हो र यो विष्फोटमा परी सातजना घाइते भएका छन् । घाइते हुनेमा म्यादी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी विसी, जोनी विसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपनि बुढाथोकी रहेका छन् ।

घाइतेमध्ये म्यादी प्रहरी चौधरी र जोनीको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई एम्बुलेन्समा उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक सुधिरजंग शाहीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायत नेता सभास्थल प्रवेश गरेपछि बम विष्फोट भएको थियो । प्रधानमन्त्रीलगायत काँग्रेस नेताहरु सभालाई सम्बोधन गरी अहिले दाङकै घोराहीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न त्यसतर्फ जानुभएको शाहीले बताउनुभयो ।

उम्मेदवार लालबाबु पण्डितलाई तर्साउन बम विष्फोटन

विराटनगर, १२ मंसिर – मोरङमा आज बिहान ८.५० बजे सुतली बम पड्किएको छ ।

बूढीगंगा गाउँपालिकाको हात्तीमुढा–५ स्थित नहरमा अज्ञात व्यक्तिले बम पड्काएर भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त बम पड्किएको स्थानबाट करिब ५०० मिटर टाढाको गाउँमा क्षेत्र नं ६ मा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डित घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । उहाँलाई तर्साउने उद्देश्यले सो बम विष्फोट गराइएको प्रहरीको अनुमान छ ।

सप्तरीमा फेला परेको बम निष्क्रिय, दुई पक्राउ

राजविराज, १२ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का कार्यकर्ताले राजविराज– कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले आज बिहान फेला पारी निष्क्रिय पारेको छ ।

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाबाट बताइएअनुसार राखिएको स्थानमा रहेको बम नेपाली सेनासहितको टोलीले निष्क्रिय पारेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।

उनीहरुको साथबाट बम पड्काउने अत्याधुनिक रिमोट कन्ट्रोलका साथै करिब पाँच लिटरको प्रेसरकुकरमा बम राखिएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई लक्षित गरी विष्फोटन गराउने योजना रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेका अभियुक्तलाई नियन्त्रमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

उम्मेदवारको घरमा बम विष्फोट

गाईघाट, उदयपुर, १२ मंसिर – त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित क्षेत्र नं १ प्रदेश ‘ख’ का नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गरेको छ ।

बम विष्फोटबाट उम्मेदवार कार्कीको गोठमा रहेको एउटा भैँसी र एउटा गाई घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

सातजना पक्राउ 

जिल्लामा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न हालसम्म सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध छजना तथा एकजना माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विष्णु कटुवाल, कमलामाया तामाङ, उध्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेललगायतका रहेका छन् । यस्तै माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हिमाल राईलाई समेत पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

नेता सिटौलाको निवास पछाडि बम विस्फोट

भद्रपुर, १२ मंसिर – झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति करिब १२.४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री