
निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ ।
काठमाडौँ, ९ मंसिर – आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर मतदान गर्न सबैमा आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचनमा मजबुत सुरक्षा व्यवस्था प्रदान गरी शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मन्त्रालय र सुरक्षा निकाय सजग र संवेदनशील रहँदै आएको छ ।’
उहाँले निर्वाचनपूर्वको सुरक्षा तयारी पूरा गर्दै अब निर्वाचनको दिनको सुरक्षा व्यवस्थामा मन्त्रालय लागेको जानकारी दिनुभयो ।
निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव सापकोटाले जानकारी दिनुभयो । यस्तै निर्वाचन हुने जिल्लाका छ स्थानमा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।
घटना र दुर्घटना भएमा प्रतिकार जनाउने तथा निरोधात्मक सुरक्षा सतर्कता र सावधानीका लागि स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको सचिव सापकोटाले जानकारी दिनुभयो ।
निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिनेछ ।
जिल्लाका सबै मतदान स्थल एवं बस्ती सुरक्षा निकायलाई दोहोरो नपर्ने गरी क्षेत्र निर्धारण गरिएको र सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन विरोधी छिटफुट घटना घटाइए पनि ती कार्य सुरक्षा निकायको पूर्ण नियन्त्रणमा रहेको गृहले जनाएको छ । सो क्रममा अवैध हातहतियार र विष्फोटक पदार्थ बरामद गरिनुका साथै घटनामा संलग्न ४०० भन्दाबढी व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाही भइरहेको गृहले जनाएको छ ।
निर्वाचन हुने जिल्लामा सो दिन सार्वजनिक निजी सवारीसाधन चलाउन नपाए पनि अत्यावश्यक सेवाका सवारी, पास भएका सवारी मात्र चलाउन पाइने गृहमन्त्रालयले जनाएको छ ।
कुनै घटना भइहाले १० देखि ३० मिनेटभित्र जुनसकै स्थानमा सुरक्षाकर्मी पुग्न सक्नेगरी आवश्यक व्यवस्था मिलाइएको गृहले जनाएको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८७९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने