लन्डन । ४९ वर्ष अघि ब्रिटिश चिकित्सक तथा नर्ससहित ११ जनाको टोलीलाई स्थलमार्ग हुंदै नेपाल प्रस्थान गर्न सहज थिएन । विभिन्न युरोपेली मुलुक पार गरेपछि इरान, अफगानिस्तान र पाकिस्तानका विभिन्न शहरको यात्रा तय गर्दै त्यो टोली दिल्ली पुग्यो । दिल्लीबाट पटना, रक्सौल हुंदै अन्ततः २० मे १९६८ का दिन काठमाडौं पुग्दा एउटा नयां संसारमा आइपुगेको अनुभव आफूहरुलाई भएको उक्त टोलीका एकजना सदस्य डा. बार्नी रसडेलले बिहीबार सुनाए ।
टोलीका ११ जनामध्ये ६ जना सदस्य बिहीबार बेलुका लन्डनस्थित नेपाली दूतावासमा भेला भएका थिए । र, त्यो संयोग जुटाइदिएको थियो सन् १९६७ मा स्थापित ब्रिटेन नेपाल मेडिकल ट्रष्ट (बिएनएमटी) ले । ट्रष्ट स्थापनाको स्वर्ण जयन्ती मनाउन सो संस्थाका ट्रष्टीहरु, सहयोगदाता र तिनका परिवार टाढा टाढाबाट लन्डन आइपुगेका थिए । नेपाल पुगेको दुई वर्षभित्र ट्रष्टका स्वयंसेवी चिकित्सक तथा तिनका नेपाली सहयोगीहरुले सरकारी स्वास्थ्य कार्यकर्तासंग मिलेर झण्डै पांचलाख नेपाली बालबालिकालाई खोप लगाएको पनि डा. रसडेलले सम्झिए ।
एउटा औपचारिक समारोहलाई सम्वोधन गर्दै ट्रष्टकी सहअध्यक्ष डा. जिलियन हल्सवर्थले ट्रष्टले काम शुरु गर्दा नेपालमा जम्मा २०० जना डाक्टरमात्रै रहेको बताइन् । त्यसबेला संसारभरि नै झण्डै एकतिहाइ जनसंख्या क्षयरोगबाट ग्रसित भएकाले ट्रष्टले नेपालमा पनि क्षयरोगीको पहिचान र उपचारका लागि काम शुरु गरेको उनले बताइन् । गएको आधा शताब्दीमा नेपाली स्वास्थ्यकर्मीहरुलाई तालिम दिनुकासाथै नेपालमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको विकास गर्न तथा अहिले संसारमै नाम कमाएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको प्रारुप तयार गर्न पनि आफूहरुले योगदान पुरयाएको उनले स्मरण गरिन् । पांच वर्ष अघि नेपालमा ब्रिटेन नेपाल मेडिकल ट्रष्टको सहकर्मी संस्थाको रुपमा बिराट नेपाल मेडिकल ट्रष्ट दर्ता गरिएको पनि उनले जनाइन् ।
समारोहमा भाग लिन नेपालबाट आइपुगेका बिराट नेपाल मेडिकल ट्रष्टका अध्यक्ष महेश शर्माले आफूहरुले बिएनएमटीसंग मिलेर क्षयरोग नियन्त्रण, स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धि, प्रशिक्षण लगायतका क्षेत्रमा काम गरिरहेको बताए । उनले दुई वर्ष अघि गएको विध्वंशकारी भूकम्प लगत्तै ट्रष्टका सदस्य तथा स्वयंसेवीहरुले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्नुका स्वास्थ्य, सरसफाइ र मानसिक स्वास्थ्यबारे परामर्श सेवाहरु प्रदान गरेको पनि बताए ।
संस्थाका सहअध्यक्ष प्रा. डा. सूर्य सुवेदीले ब्रिटेन नेपाल मेडिकल ट्रष्टले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएको भन्दै सबै सहयोगीलाई धन्यवाद दिए । उनले नेपालको वर्तमान राजनीतिक विकासक्रमबारे उल्लेख गर्दै नयां संविधानको घोषणा र हालै हुन लागेका संघीय तथा प्रान्तीय सभाको चुनावपछि नेपाल आर्थिक समृद्धिको युगमा पुग्ने आशा पलाएको पनि बताए । राजनीतिक स्थिरतासंगै आगामी दश वर्षभित्र नेपाल मध्यम आय भएको मुलुकमा पुग्न सक्ने अपेक्षा पनि उनको थियो ।
बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच २०० वर्ष पुरानो सम्बन्धलाई जनस्तरमा सुदृढ पार्न ब्रिटेन नेपाल मेडिकल ट्रष्टजस्ता संस्थाको ठूलो योगदान रहेको बताए । उनले ट्रष्ट एउटा प्रतिष्ठित संस्थाको रुपमा रहेको भन्दै नेपाल र नेपालीलाई सघाउने ट्रष्टका सदस्य तथा सबै ब्रिटिश स्वयंसेवीहरुलाई धन्यवाद पनि दिए । राजदूत सुवेदीले भूकम्पपछि नेपालमा धेरै स्वास्थ्य संरचनाहरु क्षतिग्रस्त भएकाले सेवा सुविधा प्रभावित र मानिसहरुको मानसिक अवस्था दयनीय भएको जनाउंदै यस्तो अवस्थामा बेलायतबाट थप सहयोग अपेक्षा गरिएको बताए । उनले नेपालको स्वास्थ्यस्थिति नाजुक भएको उल्लेख गर्दै मातृ तथा बाल मृत्युदर उच्च, बालबालिकामा कुपोषण जस्ता समस्या भएको पनि उजागर गरे ।
उक्त अवसरमा राजदूत सुवेदीले ट्रष्टका संस्थापक डा. इयान बेकर, एकजना ट्रष्टी डा. राघवप्रसाद धिताल (ओबिइ) तथा बिराट नेपाल मेडिकल ट्रष्टका अध्यक्ष महेश शर्मालाई उनीहरुको योगदानको कदरस्वरुप सम्मान गरे । त्यस्तै नेपालबाट आएका प्रसिद्ध चिकित्सक प्रा. डा. महेश खकुरेल लगायत ट्रष्टका पदाधिकारीहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । उक्त कार्यक्रम सञ्चालन एकजना ट्रष्टी डा. जोनी पेनले गरेका थिए ।
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न