निर्वाचनपछि कम्युनिष्टको बहुमत सरकार – दाहाल

पश्चिम चितवनको शिवनगरमा शनिबार भएको चुनावीसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल । तस्वीर – नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

रत्ननगर, चितवन, २५ कात्तिक (रासस) – पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यसले राजनीतिक स्थिरता कायम गर्ने बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले आज पश्चिम चितवनको शिवनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै दशकौं देखि नेपाली जनताले चाहेको कुरा यसपाली पूरा हुनलागेको बताउनुभयो ।

‘दशकौं देखि नेपाली जनताले कम्युनिष्ट मिलेर काम गरुन् भन्ने चाहे पनि कम्युनिष्ट विभाजन हुने र त्यो विभाजनको फाइदा दक्षिणपन्थीले लिने गरेका थिए’, उहाँले भन्नुभयो– ‘फुटाउ र राज गर भन्ने साम्राज्यवादी रणनीति अनुसारको जुन परम्परा २०१९ सालदेखि चल्दै आएको थियो, यसपटक हामीले त्यो इतिहासलाई बदल्ने पहल गरेका छौं, सबै नेपालीका निम्ति खुसीको कुरा हो ।’

अहिलेको वाम गठबन्धन चुनावका लागि मात्रै नभई कम्युनिष्ट एकताका लागि भएको उहाँको भनाइ थियो । एउटा बलियो कम्युनिष्ट केन्द्र बनाउने योजनाका साथ पार्टी एकता संयोजन समिति निर्माण गरेर अगाडि बढेको अध्यक्ष दाहालले बताउनुभयो ।

‘देशको स्थायी शान्ति र समृद्धिका लागि कम्युनिष्ट एक भएका हुन्,’ उहाँले भन्नुभयो ।

यसअघि गौचरणका सुकुम्वासीसँग अन्तक्र्रिया गर्दै अध्यक्ष दाहालले १० वर्षमा दशौं सरकार फेरिँदै आए पनि विकासको रुप रंग फेरिन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । मुलुकमा राजनीतिक स्थिरता र विकासको युग आरम्भ हुन लागेको उहाँको भनाइ थियो । निर्वाचनपछि बन्ने स्थिर सरकारले सबै समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैन – ओली

काँकडभिट्टा, झापा २५ कात्तिक (रासस) – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

झापा क्षेत्र नं १ को धुलाबारीमा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताउनुभयो ।

‘नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली काँग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ,’ उहाँले भन्नुभयो । आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उहाँको भनाइ थियो । आत्मनिर्भरताको अभियानलाई रोक्न गरिँदै आएको घेराबन्दी नेपालका कम्युनिस्ट पार्टीबीचको एकताले तोडिएको अध्यक्ष ओलीको धारणा थियो ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएका अध्यक्ष चुनावी दौडाहामा आउनुभएको हो । वाम गठबन्धनबाट झापा क्षेत्र नं १ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुरेन्द्र कार्की तथा क्षेत्र नं ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री