राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आज ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँ घरका मूल पूजारी देवराज अर्यालबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, १४ असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टिका लगाईदिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आफन्तजनलाई टीका तथा जमरा लगाउनु हुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उहाँकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले पनि टीका लगाइदिनुभयो । राष्ट्रपति भण्डारीले छोरी उषाकिरण भण्डारी र निशा कुसुम भण्डारी तथा ज्वाई उमेश थापा र अभिषेक यादव लगायत आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिनुभयो ।
राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ ।
काठमाडौँ, १४ असोज (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उहाँले टीका ग्रहण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गर्नुहुनेछ । दिउँसो २ बजे राष्ट्रपति भण्डारीको हातबाट टीका ग्रहण गरेपछि मात्र प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ ।
प्रधानमन्त्रीको हातबाट सर्वसाधारणलाई टीका लगाउन ४ बजेपछिको समय तय गरिएको जनाएको छ ।
काठमाडौँ, १४ असोज (रासस) – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादशैँको अवसरमा आफ्ना दाजु बन्धुराज पौडेलबाट टीका ग्रहण गर्नुभएको छ ।
राजधानीको कलंकीमा टीकाको शुभसाइतको समयमा वरिष्ठ नेता पौडेलले टीका ग्रहण गर्नुभएको हो ।
त्यसपछि वरिष्ठ नेता पौडेलले परिवारजन, इष्टभित्र र पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो निवास बोहोराटारमा दशैँको टीका जमरा लगाइदिनुभयो ।