
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैंको अवसरमा महाअष्टमीका दिन बिहीबार अपरान्ह भद्रकाली मन्दिरको दर्शन गर्नुहुँदै । तस्बिर – रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, १२ असोज (रासस) – बडा दशैँको महाअष्टमीका दिन आज बिहानैदेखि उपत्यकाका शक्तिपीठलगायत देशभरका देवी मन्दिरमा बलिसहित पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
उपत्यकाका शक्तिपीठहरु पशुपति क्षेत्रस्थित गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, कालिकास्थान, बज्रयोगिनी, दक्षिणकाली, बिजेश्वरी, इन्द्रायणी, मैतीदेवी, संकटा, रक्तकाली, नरदेवी, बज्रबाराही, चामुण्डा, सुन्दरीमाई, वनदेवीलगायत स्थानमा भक्तजनको भीड लागेको हो ।
यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।
आश्विन शुक्ल अष्टमीका दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी आठौँ महागौरी देवीको पूजा आराधना गरियो । वर्षभरमा पर्ने अष्टमीमध्ये दुर्गा देवीको पूजा उपासनाको विशेष दिन भएकाले आजको दिनलाई महाअष्टमी भनिन्छ ।
आजको दिन कलपूर्जा, हातहतियार र सवारीसाधनलाई विशेष रुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।
देवीका शस्त्र अस्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गरियो । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा आराधना गर्दछन् ।
आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ । यसैगरी कालरात्रि पूजा गर्नेले आज घर–घरमा राति विशेष पूजा गर्छन् ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिन दुर्गा पक्ष दशैँ आदि नामले विशेष रुपमा मनाउने नेपाली परम्परा छ । यसमध्ये पनि आश्विन शुक्ल अष्टमी, नवमी र दशमीका तीन दिनलाई देवीको उपासना र पूजाका लागि विशेष दिन मानिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यी तीन दिनलाई विशेष रुपमा मनाउनुअघि आश्विन शुक्ल सप्तमीका दिन दशैँ घर वा पूजाकोठामा फूलपाती भित्र्याइन्छ ।
नौ दिनसम्म नौवटी देवीको पूजा–आराधना गरिएको घडाले विजयादशमीका दिन अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरासहित टीका लगाइन्छ । नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने गरिन्छ ।
दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा–आराधना गरेमा वर्षभरका लागि आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । आश्विन शुक्ल पक्षलाई शक्ति आराधनाको विशेष पर्वका रुपमा मनाउने गरिन्छ ।
काठमाडौँ, १२ असोज (रासस) – बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमन पातलो देखिएको छ ।
सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छ भने पैदलयात्रुको चहलपहल पनि खासै छैन । सार्वजनिक सवारी कम चल्दा यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ देखिन्थ्यो । प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख पुगेको थियो भने त्यो क्रम टीकाको दिनसम्म रहनेछ ।
काठमाडौँको मुटु मानिने असन, इन्द्रचोक र भोटाहिटी क्षेत्रमा भने किनमेल गर्नेको घुइँचो घटेको छैन । मांशहारीका लागि खसी बोका, कुखुरा, हाँस आदि खरिदका लागि आज बिहान प्रदर्शनीमार्ग र विभिन्न चोक तथा मासु पसलमा भीड देखिन्थ्यो । सहरका मुख्य बजारका पसल पनि बन्द प्रायः छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा