
राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुहुँदै । साथमा विभिन्न दलका शीर्ष नेताहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, ८ असोज (रासस)- राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरिको ऐतिहासिक स्थानलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु प्रशंसनीय भएको बताउनुभएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनाराण शाहको पूर्णकदको सालिक चन्द्रागिरि हिल्समा आज आयोजित विशेष कार्यक्रमबीच अनावरण गर्दै राष्ट्रपति भण्डारीले चन्द्रागिरि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी अनुकरणीय काम भएको चर्चा गर्नुभयो ।
चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो सालिक ५ फिट ८ इञ्च उचाइको छ । मूर्तिकार नवीन सुवेदीले सो सालिक निर्माण गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले प्राकृतिक सौन्दर्यले सुशोभित चन्द्रगिरिको पर्यावरणीय संवेदनशीलतालाई कायमै राखी स्थानीय जनताको स्तर उकास्ने तथा पर्यटनको विकासमार्फत मुलुकको समृद्धि हासिल गर्ने काममा चन्द्रागिरि हिल्स लिमिटेडले अहम् भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा समेत गर्दै जाने अपेक्षा गरेको बताउनुभयो ।
तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स–साना सामन्ती राज्य रजौटालाई एकताको सूत्रमा बाँधेर सबल र एकीकृत राज्य निर्माण गर्नु तत्कालीन आवश्यकता भएको र त्यस ऐतिहासिक कार्यलाई पृथ्वीनाराण शाहले सम्पन्न गर्नुभएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सन् २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरि हिल्सलाई प्रदान गर्ने घोषणा गर्दै चन्द्रागिरि हिल्सले केवलकारको निर्माणसँगै सांस्कृतिक र धार्मिक पर्यटनको समेत विकास गर्नु आफैँमा सकारात्मक काम हो भन्नुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा (माओवादी) नेता नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअर्थमन्त्री डा रामशरण महत, राजपाका नेता शरत्सिंह भण्डारी, सभासद्हरु सुवाससिंह ठकुरी, विनोद श्रेष्ठ, प्रेमबहादुर सिंहलगायतले मुलुकको आर्थिक विकासमा जोड दिनुभयो ।
हाल चन्द्रागिरि पर्वतमा केवलकार निर्माण भई सञ्चालनमा रहेको छ । पृथ्वीनारायण शाहले त्यस समयमा उपत्यका जित्ने शक्ति प्राप्त होस् भनी कामना गर्नुभएको स्थानमा भालेश्वर महादेव मन्दिर निर्माणसमेत भएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोही परिसरमा सुविधा सम्पन्न र अन्तर्राष्ट्रियस्तरको होटल निर्माण गर्न लागिएको बताउनुभयो । अध्यक्ष ढकालका अनुसार प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएर लगायतका अन्य साहसिक पर्यटकीय कार्य सञ्चालन गर्ने योजना रहेको छ । अहिले चन्द्रागिरिमा २५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने