मधेशी आयोगसम्बन्धी विधेयक पारित

काठमाडौँ, २३ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकले संविधानबमोजिमको मधेसी आयोगसम्बन्धी विधेयक, २०७४ सर्वसम्मतिले पारित गरेको छ ।

उक्त विधेयक उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारका तर्फबाट भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै भूमिसुधार मन्त्री दहितले विधेयकमा मधेशी, जनजाति लगायतका आन्दोलनका भावना समेटिएको जानकारी गराउँदै सरोकारवालाका माग सम्बोधन भएको बताउनुभयो ।

विधेयकसम्बन्धी छलफलमा भाग लिँदै सांसदहरु योगेन्द्र चौधरी, कल्पना चौधरी, प्रेम सुवाल, नागेन्द्र कुमाल, पेम्बा गुरुङ बोटे लगायतले विधेयकमा थारु समुदायका पहिचान र संस्कृतिलाई समेटिनुपर्ने सुझाव दिनुभएको थियो ।

यसअघि बैठकमा सभामुख ओनसरी घर्तीले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, विद्युत् नियमनसम्बन्धी विधेयक र श्रमसम्बन्धी विधेयक प्रमाणीकरण गरी पठाइएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

त्यस्तै सभामुख घर्तीले नेकपा (माओवादी केन्द्र)का सांसद योगेन्द्र तामाङ घिसिङले पदबाट राजीनामा दिएपछि व्यवस्थापिका–संसद् नियमावलीको नियम २२२ को उपनियम १ बमोजिम स्थान रिक्त भएको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री