
नेकपा(माओवादी केन्द्र)को पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको केन्द्रिय कार्यालयको विस्तारित बैठक । तस्बिर सौजन्य ः अध्यक्ष दाहालको सचिवालय, रासस
काठमाडौँ, ७ साउन । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने नीति अख्तियार गर्ने भएको छ । ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अन्तरघात गरेका पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, “अप्ठ्यारो समयमा ‘बागी उम्मेदवार बन्ने, अन्तरघात गर्ने र विपक्षी पार्टीको पैसा लिएर पार्टीमाथि घात गर्नेलाई कारबाही हुन्छ । अब छुट दिन सकिँदैन ।”
अध्यक्ष दाहालले निर्वाचन सम्पन्न भएका छवटै प्रदेशमा तीन-तीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानबिन गरिने र दोषी पाइए कारबाही हुने बताउनुभयो । बैठकमा अध्यक्ष दाहालले भन्नुभयो, “मुलुकका विभिन्न स्थानबाट अन्तरघात, पार्टी नीतिविरुद्धको गतिविधि भएको उजुरी आएको छ, अब सत्य तथ्य छानबिन हुन्छ र उनीहरुमाथि कारबाही हुन्छ ।”
दुई नम्बर प्रदेशको भेला साउन १० गते
स्थानीय तहको निर्वाचन हुन बाँकी रहेको प्रदेश नं २ को निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन माओवादी केन्द्रले यही साउन १० गते भेला आयोजना गर्ने निर्णय गरेको छ ।
कुल १२७ स्थानका लागि हुने सो प्रदेशमा कम्तीमा पनि ५० भन्दा बढी स्थानमा विजयी हुनै पर्ने निष्कर्षमा साथ भेला आयोजना गर्न लागिएको माओवादीले जनाएको छ । भेलामा प्रदेश नं २ का जिल्ला तहसम्मका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।
भेलाले निर्वाचन परिचालन, उम्मेदवारी चयन तथा पार्टीको आन्तरिक तथा बाह्य तयारीका सन्दर्भमा निर्णय गर्नेछ । त्यसबाहेक राम्रो जित भएका जिल्लामा त्यहाँका मतदातालाई सङ्गठनमा ढाल्न नीति बनाएर लागू गर्ने माओवादी केन्द्रले बताएको छ । भेलाको स्थान भने प्रदेश समितिले तय गर्नेछ ।
निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण
स्थानीय तहमा माओवादी केन्द्रका तर्फबाट विजयी भएकालाई जनताको पक्षमा कसरी काम गर्ने भन्ने प्रशिक्षण दिन भेला आयोजना गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट विजयी भएकालाई अन्य पार्टीको भन्दा फरक कार्यशैलीका साथ काम गर्नसक्ने बनाउने तथा माओवादी केन्द्रको योजना, कार्यक्रम, नीति कस्तो हो भन्ने बुझाउनका लागि भेला जरुरी रहेको बैठकमा कुरा उठेपछि भेला आयोजना गरिएको सो पार्टीले जनाएको छ । त्यस्तो भेला यही साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट आयोजना गरिनेछ । भेलाको स्थान भने पछि तय गरिनेछ ।
प्रतिबद्धता लेख्ने जिम्मा नेता श्रेष्ठलाई
माओवादीले सङ्घीय संसद् र प्रदेश तहको निर्वाचनका लागि पार्टीका तर्फबाट प्रतिबद्धतापत्र लेख्ने जिम्मा नेता नारायणकाजी श्रेष्ठलाई दिएको छ । पार्टीको नीति, कार्यक्रम, योजनालगायत विषयलाई जनताले बुझ्ने भाषामा बनाउन नेता श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको र सो समितिमा राजनीतिज्ञ, अर्थशास्त्री, समाजशास्त्री तथा सम्बन्धित क्षेत्रका विज्ञलाई समेत सदस्यका रुपमा राखिने माओवादी केन्द्रले जनाएको छ ।
यस्तै, प्रदेशसभाको चुनावका लागि उम्मेदवार छनोटका लागि रामबहादुर थापाको संयोजकत्वमा समिति बनाइएको माओवादी केन्द्रले जनाएको छ ।
केन्द्रीय समितिको आकार घट्ने
‘जम्बो’ केन्द्रीय समिति भएका कारण कामकाजी नभएको तथा प्रभावकारी हुन नसकेको भन्दै अध्यक्ष दाहालले समितिको आकार घटाउने जानकारी दिनुभएको छ । बैठकमा नेताहरुले भद्दा साङ्गठिन संरचनाका कारण परिचालनमा समस्या भएको भन्दै नेतृत्वको चर्को आलोचना गरेपछि सबै प्रदेशबाट सो सन्दर्भमा निर्णय गराएर केन्द्रीय कार्यालयले दुई अङ्कको केन्द्रीय समिति बनाउने अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो ।
माओवादी केन्द्रले महाधिवेशन आयोजक समिति भन्दै करिब चारहजार जनाको केन्द्रीय समिति बनाएको थियो । उक्त समितिको बैठक हालसम्म बस्न सकेको छैन ।
अध्यक्ष दाहालले सरकारमा बसेर राम्रा काम गरेको र आफ्नो एजेण्डा समेत हरणमा पर्ने अवस्था देखिएको भन्दै आगामी दिनमा त्यस्तो हुन नदिइने बताउनुभयो । उहाँले त्यसका लागि नयाँ रणनीति बनाउने र कार्यान्वयन गरेरै छाडिने स्पष्ट पार्नुभयो ।
जनताका घरघरमा जान निर्देशन
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीका सबै नेता तथा कार्यकर्तालाई जनताको घरघर, बस्तीबस्तीमा गएर सङ्गठन बनाउन, पार्टीको एजेण्डा लागू गर्न, गल्ती भएको भए माफी माग्न समेत निर्देशन दिनुभएको छ ।
उहाँले नेकपा (एमाले) ले राज्यका तर्फबाट वृद्धवृद्धालाई वितरण गरिएको सामाजिक सुरक्षा भत्ता मात्रै बिक्री गरेको भन्दै माअोवादी नेतृत्वको सरकारले गरेका काम अब घरदैलोसम्म पुरयाउनसमेत नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकमा आर्थिक समृद्धिको वातावरण बनेको, आर्थिक वृद्धि २५ वर्षपछि करिब सात प्रतिशतको हाराहारीमा पुगेको, राष्ट्रिय गौरवका आयोजनामा उल्लेख्य प्रगति भएको, विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा विशेष पहल भएको भन्दै त्यस्ता काम र कार्यक्रम जनताका बीचमा पुरयाउनुपर्नेमा समेत जोड दिनुभयो ।
सरकारमा रहेर संविधान कार्यान्वयन, राष्ट्रिय एकताका सन्दर्भमा खेलेको भूमिका, सन्तुलित विदेश नीति, आर्थिक वृद्धिदरलगायत विषय लिएर जनता समक्ष जान अध्यक्ष दाहालले नेताहरुलाई निर्देशन दिनुभयो ।
प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा पुनःस्थापित गर्ने
संविधान निर्माणका क्रममा सहमतिका लागि भन्दै तत्कालका लागि स्थगित गरेको प्रत्यक्ष निर्वाचित कार्यकारीसम्बन्धी शासन प्रणालीलाई माओवादी केन्द्रले अब रणनीतिक रुपमा अगाडि बढाउने भएको छ । संसदीय प्रणालीका कारण सरकार बन्ने र ढल्ने अवस्था आएको तथा जनतामा समेत निराशा फैलिएको भन्दै अब कार्यकारी प्रमुख जनताको मतबाट निर्वाचित हुने प्रणालीलाई अङ्गीकार गर्ने नीति लिएर जनतामा जाने अध्यक्ष दाहालको भनाइ थियो ।
उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि माहोल बनाउनुपर्ने र त्यसका लागि अन्य पार्टीसँग पनि छलफल गर्ने र संविधान संसोधनको वातावरण बनाउने बताउनुभयो । उहाँले राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मोहन वैद्य, डा बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलगायत अन्य क्रान्तिकारी शक्तिसँग पार्टी एकताका लागि विशेष अपिल गर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले कम्युनिस्ट र वाम आवरणमा एमालेले रुढीवाद (कन्जरभेटिभ) लाई प्रश्रय दिएकोे र परिवर्तनका एजेण्डा संस्थागत हुन नदिने खेलमा लागेको घटनाक्रमबाट पुष्टि भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी केन्द्रले एमालेभित्रका परिवर्तनकारी शक्तिसँग राम्रो सम्बन्ध बनाएर उसलाई रुपान्तरण गर्न पहल गर्नुपर्छ ।”
बैठकमा नेता थापाले सङ्गठन सुधारमा शीर्ष नेतादेखि सबै तहका कार्यकर्ता इमान्दर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले क्रान्तिकारी शक्तिसँगको एकतालाई पनि जोड दिनुपर्ने धारणा राख्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता