काठमाडौँ, ३ साउन । आन्तरिक विवाद मिल्न नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि हुने केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने स्थिति देखा परेको छ ।
पछिल्लोपटक पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि विवाद चुलिएको हो । असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता पशुपति शम्शेर राणाले सो निर्णय सच्चाउन माग गर्नुभएको तर त्यसलाई संस्थापन पक्षले नकारिदिएपछि विवाद बल्झिएको हो ।
नेता राणाले पार्टीमा आफूसँग परामर्श नगरी अध्यक्ष थापाले एकतर्फी रुपमा गरेको निर्णयले पार्टीलाई निरंकुश बनाउने बताउनुहुन्छ । संगठनलाई प्रजातान्त्रिक बनाउन आफ्नो पक्षले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । पार्टी नेतृत्वले गलत निर्णयलाई नसच्चाएमा केन्द्रीय कार्यसमितिको बैठकमा आफू सहभागी हुन नसक्ने उहाँ बताउनुहुन्छ ।
पार्टीमा १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा अहिलेसम्म चुनाव र मनोनयनमार्फत १५२ सदस्य पद पूर्ति गरिएको छ । पार्टीमा रिक्त रहेको ११ केन्द्रीय सदस्य भने असन्तुष्ट पक्षको सिफारिशमा मनोनयन गर्ने सम्भावना रहेको भए पनि असन्तुष्ट पक्षले त्यसलाई नकारेपछि नेतृत्व वर्गलाई चुनौती थपिएको हो ।
संस्थापन तथा असन्तुष्ट दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नभएपछि विवाद उत्कर्षतर्फ जाने खतरा बढेको छ । संस्थापन पक्षका अनुसार असन्तुष्ट पक्षले पार्टीले लिएका वैचारिक सिद्धान्तमा खासै फरक मत राखेको छैनन् तर चुनाव चिह्न गाईलाई परिवर्तन गरी हलो राख्नुपर्ने कुरा मात्र उठाएका छन् । संविधान संशोधनका विषयमा दुवै पक्ष मतैक्यता देखिएपनि सरकारमा सहभागी हुने विषयमा मतभेद कायमै छ । स्थानीय तहका छ प्रदेशमा भएका चुनावमा अपेक्षाकृत परिणाम प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वमाथि प्रश्न उठेको छ ।
आन्तरिक समस्यालाई समाधान गर्न विभिन्न तहमा छलफल जारी छ । त्यसका लागि पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा वरिष्ठ नेता राणाका बीच पनि वार्ता भएको छ । केन्द्रीय कार्यसमितिको बैठकअगावै विवाद सुल्झाउन पार्टीको विभिन्न तहमा बैठक बसिरहेको र दुवै पक्षलाई मिलाएर बैठकमा सहभागी गराउन मध्यममार्गी नेताले प्रयास गरिरहेको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
केन्द्रीय समितिको बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यलाई समेत बोलाइएको छ । पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी अहिले १५२ सदस्य रहेकामा अब पूर्व नेतालाई सहभागी गराउँदा करिब २०० जना थपिन सक्ने अनुमान गरिएको छ ।
देशभरका नेता तथा कार्यकर्ता पार्टी एकताबद्ध भई बाँकी निर्वाचनमा सहभागी होस् र कुनै पनि हालतमा पार्टी नटुटोस् भन्ने हो भन्नुहुन्छ नेता किरण गिरीले बताउनुभयो । दुवै पक्षका त्रुटिको समीक्षा गरी नयाँ समझदारी कायम गराउन समय थोरै छ । पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा बैठकमा सहभागी नेताले गम्भीरतापूर्वक छलफल गर्ने भएकाले यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा सहभागी हुन देशभरबाट नेताहरुको काठमाडौँ आउने क्रम शुरु भएको छ ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा