
प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा कीर्तिपुरमा आइतबार त्रिविवि सभाको ५८ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १८ असार । प्रधानमन्त्री एवम् त्रिविका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
त्रिवि सभाको ५८ औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक वातावरण निर्माण गरी शिक्षालाई वैज्ञानिक, व्यावहारिक रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राथमिक शिक्षासँगै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पुरयाउन आवश्यक रहेको र यसका लागि व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिक रुपमा अगाडि बढाउँदै लैजानुपर्ने औंँल्याउनुभयो ।
प्रधानमन्त्री देउवाले सबै सरोकार भएकाहरुसँग समन्वय गरी विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र नीतिगत विषयमा आवश्यकतानुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले अर्काे प्रसङ्गमा हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनु र यसमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनमा थप सहजता आएको महसुस गरिएको बताउँदै आगामी माघभित्र सबै तहको निर्वाचन गराई मुलुकलाई स्थायित्व र विकासको मार्गमा अगाडि बढाउनु सरकारको पहिलो प्राथमिकता हो भन्नुभयो ।
बैठकमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति गोपालमान श्रेष्ठले समय र परिस्थिति अनुकूल विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई विश्व परिवेश अनुकूल गराउन तथा गुणात्मक रुपले प्रतिस्पर्धी विद्यार्थी उत्पादन गराउन आग्रह गर्नुभयो ।
त्रिविका कुलपति प्रा डा तीर्थराज खनियाले विश्वविद्यालयले काठमाडौँ उपत्यकाभित्र लागू गरेको सेमेस्टर प्रणाली व्यवस्थित गरेको, प्रविधियुक्त शिक्षाको थालनी गरी वाइफाइ र इ–लर्निङको व्यवस्थाका साथै दूरशिक्षाको समेत थालनी गरेको जानकारी दिनुभयो ।
त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले २०७३ असार २ गतेदेखि २०७४ जेठ १७ सम्मका अवधिमा तोकिएका आवश्यकता पूरा गरी परीक्षासमेत उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका ८६ हजार २९२ जना विद्यार्थी रहेको जानकारी दिनुभयो ।
तीमध्ये शिक्षाशास्त्र सङ्कायमा २६ हजार २९०, व्यवस्थापन सङ्कायमा १८ हजार १५३, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा १३ हजार २३६ र कानुन सङ्कायमा एक हजार १०८ छन् । त्यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा चार हजार ३५४, इन्जिनियरिङ अध्ययन संस्थानमा दुई हजार ३९३, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४३१ र वन विज्ञान अध्ययन संस्थानमा २४० छन् । ती विद्यार्थीको दीक्षान्त आगामी पुसमा गर्ने तयारी भइरहेको बताइएको छ । यसअघि प्रधानमन्त्री देउवाले त्रिविको नवनिर्मित मूल प्रवेशद्वारको उद्घाटन तथा त्रिवि केन्द्रीय कार्यालय परिसरमा झन्डोत्तोलन गर्नुभएको थियो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित