
नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोला नजिकै बिहीबार राति खसेको पहिरो पन्छाइँदै । पहिरोमा ईलाका प्रहरी कार्यालय मुग्लिनको भ्यान र एक ट्रक भीरबाट झर्दा भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित दुईजना प्रहरीको मृत्यु हुनुको साथै दुई जना प्रहरी जवान बेपत्ता भएका छन् । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस
चितवन, ९ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँगै त्रिशूलीमा खसेको प्रहरी भ्यानका दुई प्रहरीको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी जवान ३० वर्षीय दीपककुमार मास्केको शव भेटिएको हो । तामाङ धादिङ जिल्ला खनिया गाउँपालिका–४ का र मास्के बारा जिल्लाको हरैया–६ का हुनुहुन्थ्यो । उहाँहरुको शवलाई सडकभन्दा तल नदीमाथि भिरमा पहिरोले किचिएको अवस्थामा फेला परेको घटनास्थलमा रहनुभएका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । गाडीका चालक मास्के र प्रहरी सहायक निरीक्षक तामाङ गाडीको अघिल्लो सिटमा रहनुभएको थियो ।
पहिरोमा परी इलाका प्रहरी कार्यालय मुग्लिनका जवान २१ वर्षीय सन्दीप कार्की र ३१ वर्षीय लीलाबहादुर चेपाङ पनि बेपत्ता हुनुभएको छ । कार्की तनहुँको रुपाकोट–३ का र चेपाङ गोरखा मकैसिङ–१ का हुनुहुन्छ । उहाँहरुसँगै प्रहरीको ना१झ १३९० नंको भ्यान र दुई थान एसएलआर हतियार बेपत्ता भएका छन् । प्रहरी उपरीक्षक थापाले सुरुमा सडकमै पहिरोमा भ्यान पुरिएको अनुमान गरिएको भए पनि शवलाई भिरमा भेटिएपछि गाडी त्रिशूलीमा खसेको अनुमान गरिएको बताउनुभयो । पहिरोले भिरमा अड्काएको ना५ख ७८२७ नंको ट्रकका सहयोगी चालक सिजल लामालाई उपचारका लागि आँबु खैरहनी लगिएको छ भने चालक रामकुमार लामा सकुशल रहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ पहिरो खसेको हो ।
सवारीसाधन र बेपत्ता भएकाको रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले खोजी कार्यलाई तीव्रता दिएका छन् । सोही सडकको चारकिलोमा खसेको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको छ । दुई पहिरो बीचमा रहेका सवारीसाधनलाई नारायणगढतर्फ पठाइएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।
मुख्य घटनास्थलमा खसेको पहिरो भने पन्छाउने क्रम जारी रहेको छ । राति ९ः४० बजे कालीखोलाको मुखमा खसेको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो । चारकिलोको पहिरो पन्छाउन नसकेपछि फर्किने क्रममा सो ठाउँमा पहिरो खसेर गाडी दुर्घटना भएको हो ।
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित