बुद्धको प्रतीमासहित शोभा यात्रा

२५६१ वुद्ध जयन्तिका अवसरमा पाटी विहारको आयोजनामा बुद्धको मूर्ति सहितको खटलाई नगर परिक्रमा गराउँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २७ वैशाख । बौद्धनाथ क्षेत्र विकास समितिले २५६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धको प्रतीमासहित शोभा यात्रा सम्पन्न गरेको छ ।

नेपाल बौद्ध महासङ्घ तथा स्थानीय सङ्घ संस्थालगायतको सहभागितामा बौद्धबाट आज निकालिएको शोभा यात्रा चाबहिल आएर पुनः बौद्धस्थित समारोहस्थल पुगेको थियो ।

यात्राको अवधिभर सहभागीले बौद्ध दर्शन तथा शिक्षालाई प्रवद्र्धन गर्नका लागि विभिन्न प्रचार सामग्री बोकेका थिए । बौद्धनाथ चैत्यमा महायानी सम्प्रदायका बौद्ध धर्मावलम्बीले सम्पूर्ण प्राणीको कल्याण तथा विश्व शान्तिको कामना गर्दै पाठ तथा पूजा गरेका थिए ।

काठमाडौँका विभिन्न स्थानबाट भक्तजन दर्शनका लागि उक्त स्थानमा सहभागी भएका थिए । समितिले बुद्धले प्रतिपादन गरेका शान्ति, अहिंसा, करुणा तथा नैतिक शिक्षालाई प्रचार गर्न काठमाडौँबाट मनकामनासम्म शान्ति दौड सम्पन्न गरेको छ ।

शाक्यमुनि बुद्धको अन्त्येष्टिका क्रममा प्राप्त भएका अवशेष (अस्थी धातु) प्रदर्शनसमेत गरिएको थियो । सर्वसाधारणको दर्शनका लागि प्रत्येक वर्ष बुद्धजयन्तीका दिन सो पवित्र वस्तु खुल्ला गरिने गर्दछ ।

बौद्धनाथ चैत्यको ऐतिहासिक पक्षलाई समेटेर तयार गरिएको ‘चिन्तामणि बौद्ध महास्तुप’ नामक पुस्तक समितिले आज प्रकाशनमा ल्याएको छ । सो पुस्तकमा बौद्धको संक्षिप्त इतिहास, विभिन्न समयमा भएका जीर्णोद्धारकाबारेमा जानकारी गराइएको छ । बौद्ध धर्ममा चैत्य परिक्रमा गर्दाका विधि तथा मन्त्र, जपका विषय पनि पुस्तकमा छ ।

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बुद्धले विश्वका मानवका लागि दिएको शान्ति तथा अहिंसाको सन्देशलाई विभिन्न गतिविधि गरी प्रवद्र्धन गर्नका लागि समिति क्रियाशील रहेको बताउनुभयो ।

बौद्ध विद्वान् टीका शेर्पाले विश्व सम्पदामा सूचीमा सूचीकृत उक्त सम्पदा स्थलकाबारेमा थप अध्ययन अनुसन्धान गर्नेका लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । बौद्धजयन्तीका दिन पर्यटकलाई आज बौद्धनाथ चैत्यको दर्शनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री