
चितवन निकुञ्जको सुकिभारमा ‘डाट’ गरेर नियन्त्रणमा लिइएको दुर्लभ एकसिंगे गैंडा । गैंडालाई आजै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइने छ । तस्बिरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
चितवन, २१ चैत । चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण गर्ने कार्य आजदेखि सुरु गरिएको छ ।
चितवनबाट शुक्लाफाँटामा एक भाले र चार पोथी गैँडा स्थानान्तरण गरिँदैछ । यसै क्रममा आज बिहान १० बजेर २४ मिनेट जाँदा निकुञ्जको सुखिभारको घाँसे मैदानमा एउटा भाले गैँडालाई डाट (बेहोस बनाउने औषधि राखिएको गोली बन्दुकले हान्ने काम) गरेर स्थानान्तरणका लागि ट्रकमा राखिएको छ । साँझसम्ममा सोही क्षेत्रबाट अर्को एक पोथी गैँडा डाट गरी शुक्लाफाँटा लैजाने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।
पहिलो भाले गैँडालाई निकुञ्जका प्रविधिज्ञ तीर्थबहादुर लामाले रुखमा चढेर डाट गर्नुभएको थियो । डाट गरेको पाँच मिनेटमा गैँडा घाँसे मैदानमा ढलेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । तीस वटा हात्तीले घेरा हाली गैँडालाई बीचमा पारेर डाट गरिएको थियो ।
करिब १५ वर्षको सो वयस्क भाले गैँडा चार सय २६ सेन्टिमिटर लामो छ । सो गैँडामा ५८९४ नम्बरको कलर आइडी लगाइएको कँडेलले बताउनुभयो । डाट गरेर ढलेपछि गैँडालाई काठबाट पिर्का झैँ बनाइएको ठूलो स्ल्याबमा राखेर डोजरले ट्रकमा राखेको थियो ।
त्यसअघि निकुञ्जको सुखिभार क्षेत्रमा निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराई र क्षेत्रीय वन निर्देशक गणेश झाले डाट गर्न प्राविधिक टोलीलाई हस्तान्तरण गरी गैँडा खोज्ने काम सुरु गरिएको थियो ।
आजै बिहान सुखिभारमा वनदेवीको पूजासमेत गरिएको थियो । सो अवसरमा विभागका उपमहानिर्देशक भट्टराई र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले टोलीलाई आवश्यक निर्देशन दिनुभएको थियो । दुई दिनअघि सुखिभारमा शिविर खडा गरी गैँडाको बासस्थानको अध्ययन गरिएको थियो ।
गैँडा नियन्त्रणमा लिने कार्यका लागि ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी दुई दिनदेखि खटिएका थिए । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार यस अतिरिक्त नेपाली सेना, दातृ संस्थाहरु, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जुलोजिकल सोसाइटीलगायतका प्रतिनिधि गरी करिब एक सयजना आज परिचालन भएका छन् ।
गैँडा पठाउन तीनवटा खोर तयारी अवस्थामा राखिएको छ । यसअघि सन् २००० मा चार वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो । चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैँडाको सङ्ख्या १४ पुग्नेछ । शुक्लाफाँटामा गैँडाका लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । सरकारले शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
यही निर्णयअनुरुप गतवर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा लगिएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश