
काठमाडौँमा फागुन १९ र २० गते हुने ‘नेपाल लगानी सम्मेलन’ बारे आइतबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नविन्द्रराज जोशी सम्मेलनबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १५ फागुन । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ यही फागुन १९ र २० गते काठमाडौँमा हुने ‘नेपाल लगानी सम्मेलन’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा हुने सम्मेलनमा नेपालमा लगानीको सम्भावनाका क्षेत्र, लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयास तथा लगानीका तुलनात्मक लाभबारे गहन प्रस्तुति तथा छलफल हुने सरकारले जनाएको छ ।
सम्मेलनको तयारीका बारेमा जानकारी गराउँदै उद्योग मन्त्री नवीन्द्रराज जोशीले सम्मेलनमा विदेशी तथा स्वदेशी लगानीकर्ता, नेपालस्थित विदेशी कूटनीतिक नियोग, विकास साझेदार संस्था, क्षेत्रगत विज्ञ, सरकारी सरोकारवाला, निजी क्षेत्रलगायतलाई लक्षित गरिएको बताउनुभयो ।
‘नेपालमा लगानीका सम्भावनाको उपयोग’ मूल नाराका साथ आयोजना हुन लागेको दुईदिने उक्त अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा लगानीकर्ताका लागि विशेष सूचना कक्ष, लगानीकर्ताबीच आपसी बैठक, सरकार र लगानीकर्ताबीच बैठकको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
मन्त्री जोशीले भन्नुभयो, “सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न नौवटा विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछन् ।”
प्रधानमन्त्री पुष्पकमल दाहालबाट समुद्घाटन हुने भनिएको सम्मेलनमा प्रमुख वक्ताका रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्वीनको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा विदेशी लगानीकर्ता, विज्ञ तथा स्वदेशी राजनीतिक दलका प्रमुख तथा नेता, मन्त्रीगण, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका वरिष्ठ अधिकारी, सरकारी उच्च अधिकारी, व्यावसायिक नेतृत्व, विज्ञ वक्ता तथा समूह छलफलमा सहभागी हुने कार्यक्रम छ ।
सहभागिताका लागि भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानाडा, बेलायत, दक्षिण कोरिया, फिनल्याण्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका झन्डै २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले प्रतिबद्धता जनाएको मन्त्री जोशीले जानकारी गराउनुभयो ।
त्यसैगरी, करिब ३०० स्वदेशी लगानीकर्ता, नीतिनिर्माता तथा विज्ञ पनि उक्त सम्मेलनमा सहभागी हुने मन्त्रालयले जनाएको छ । सम्मेलनमा करिब रु एक खर्बको लगानी विभिन्न क्षेत्रमा प्रतिबद्धता हुने मन्त्रालयको अनुमान छ ।
“लगानी सम्मेलनमा गरिएका प्रतिबद्धता र निर्णयको प्रभावकारी कार्यान्वयन गराउने उद्देश्यले राष्ट्रिय योजना आयोगअन्तर्गत नीतिगत सुधार समिति, अर्थ मन्त्रालयको संयोजकत्वमा परियोजना बैंक परिमार्जन समिति, लगानी बोर्डको संयोजकत्वमा औद्योगिक प्रवद्र्धन समिति तथा उद्योग मन्त्रालयको संयोजकत्वमा समग्र समन्वय समिति गठन गरिनेछ”– उहाँले भन्नुभयो ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले विगत द्वन्द्वको समयमा पनि नेपालमा विदेशी लगानी निरन्तर आएको प्रसङ्ग उल्लेख गर्दै यो सम्मेलन नेपाललाई लगानी गन्तव्यका लागि विकास गर्ने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।
संविधान निर्माणपछि शान्तिपूर्ण राजनीतिक अवस्था तथा लगानीमैत्री ऐन कानुन बनिसक्दा पनि अपेक्षित रुपमा लगानी नभित्रिएकोप्रति सङ्केत गर्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस्ता सम्मेलनले विदेशी लगानी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सम्मेलनले नेपाल विदेशीका लागि खुला रहेको र नेपालका आर्थिक नीति तथा कानुन विदेशी लगानीमैत्री रहेका कारण नेपाल विदेशी लगानीको आकर्षक गन्तव्य बन्दै गएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा प्रचारप्रसार हुने विश्वास सरकारले लिएको छ ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता