काठमाडौँ, २३ माघ । अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ ।
नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दिपक गिरीले उक्त सहयोग रकमको चेक स्व कार्कीकी आमा कल्पनालाई हस्तान्तरण गर्नुभयो ।
अमेरिकाको ओक्लाहोमा इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्सिङ विषय अध्ययनरत धादिङकी कार्कीको गत नोभेम्बर १६ (मङ्सिर १) गते हृदयाघातका कारण मृत्यु भएको थियो ।
उनी एक मात्र छोरी हुन् । सानै उमेरमा बुबा गुमाएकी थिइन् । कार्कीको निधनलगत्तै दुई हप्ताको अवधिमा नेपाली समुदायबाट करिब ८० हजार डलर सङ्कलन गरिएको र बाँकी उनी अध्ययनरत युनिभर्सिटीका एक हजार २८४ विद्यार्थीमार्फत रकम सङ्कलन भएको सोसाइटीका अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो ।
सो अवसरमा सिँचाइमन्त्री गिरीले नेप्लिज सोसाइटीले नेपालीको पीडामा सहयोगका साथै अमेरिकामा नेपाली संस्कृति संरक्षण, शैक्षिक प्रवद्र्धनमा खेलेको भूमिकाको सराहना गर्नुभयो ।
उहाँले अमेरिकामा मात्र नभई धेरै मुलुकमा विभिन्न सिलसिलामा जाने नेपालीमाथि यस्ता दुःखद् र पीडादायी घटना हुने गरेको र त्यहाँस्थित नेपाली राजदूतावासले समन्वय र प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
सोसाइटीका अध्यक्ष लामिछानेले एक वर्षको अवधिमा अमेरिकामा १२ जना नेपालीको निधन भएको र यो अवधिमा अमेरिकास्थित नेपाली राजदूतावासले कुनै समन्वय र सहयोग नगरेकामा दुःखेसो पोख्नुभयो ।
यसैबीच गत वर्षको भूकम्पमा परी मुत्यु भएकी सिर्जना श्रेष्ठको स्मृतिमा रु पाँच लाख अक्षय कोषको घोषणा गरिएको छ । २०७३ वैशाख १२ देखि नै कार्यान्वयनमा आएको उक्त रकमको ब्याजमार्फत धादिङकै कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष रु ५० हजार प्रदान गरिने कोष व्यवस्थापनको जिम्मा लिएको होली हिमालयन ट्रस्टकी निर्देशक आशा गुरुङले जानकारी दिनुभयो ।
सो अवसरमा पीडित परिवारलाई सहयोग रकम जुटाउन महत्वपूर्ण भूमिका खेल्नु हुने नेप्लिज सोसाइटी टेक्ससका अध्यक्ष लामिछाने र महासचिव कमल सत्याललाई ट्रस्टको तर्फबाट सम्मान गरिएको थियो । त्यसैगरी अक्षय कोष स्थापना गर्न सहयोग गर्नुहुने स्व सिर्जनाकी आमा भारती र पर्यटन व्यवसायी रामप्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने