
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बलुवाटारमा बसेको सरकारमा रहेको दल र मधेसी मोर्चा वीच भएको बैठकमा उपस्थित नेताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा आज सत्तारुढ नेपाली काँग्रेस र मधेसी मोर्चासँग परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टा भएको छलफलमा उल्लेखित दुबै विषयमा सहमति खोज्ने प्रयास भए पनि कुनै निष्कर्ष निस्किएन । यद्यपि, अबको एक-दुई दिनभित्रै पुनः बैठक बसी सहमति खोज्ने दुबैतर्फका नेताहरुले प्रतिक्रिया दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भोलि छलफल गरी अर्को निर्णायक बैठक गर्ने बताइएको छ ।
आजको बैठकमा दुबै पक्षको अडानले सहमति जुटेन । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको विषयलाई एकैसाथ लैजाने प्रस्ताव राख्नुभएको थियो । तर मोर्चाले संशोधन टुङ्गो नलगाई कुनै पनि निर्वाचन अघि बढ्न नसक्ने बताएपछि त्यस विषयमा दलीय सहमति जुटाउन अर्को बैठक गर्ने सहमति भएको हो ।
संशोधन र निर्वाचनबारे बुधबारसम्म दलीय परामर्श गरी टुङ्गो लगाउने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
“बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन र निर्वाचनबारे छलफललाई केन्द्रित गर्नुभयो । संशोधनको प्रक्रिया पनि अघि बढाउने तर निर्वाचनको दिशामा पनि देशलाई लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
मोर्चाले संशोधन प्रक्रियालाई टुङ्ग्याएर मात्रै निर्वाचनमा लाग्नुपर्ने धारणा राखेपछि यो विषयमा भोलि या पर्सी तत्कालै छलफल गरी ठोस निष्कर्ष निकाल्न आजको बैठकको निरन्तरतामा अर्को बैठक बस्ने सहमति भएको छ,”–उहाँले भन्नुभयो ।
सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संशोधन विधेयक र निर्वाचनबारे वृहत र सकारात्मक छलफल भए पनि विषयवस्तुको टुङ्गो नलागेकाले अर्को बैठक बसी सहमति गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकमा मोर्चाको तर्फबाट निर्वाचनको मिति अहिले घोषणा गर्ने कि नगर्ने तथा स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गर्ने या नगर्नेबारे छलफल भएको छ । उक्त विषयमा प्रधानमन्त्रीले गम्भीर रुपमा छलफल गरी आवश्यक निर्णय लिने धारणा राख्नुभएको नेता कर्णले बताउनुभयो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले निर्वाचन र संशोधनबारे एमालेसँग पनि छलफल गरी सहमति खोज्ने विषयमा कुराकानी भएको बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको उपस्थिति थियो ।
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी