
सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा नृत्य गर्दै तामाङ कलाकार । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जतिसक्दो चाँडो संविधान संशोधन गरी स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने बताउनुभएको छ ।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने पर्व सोनाम ल्होसार २८५३ को अवसरमा मूल समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत आदिवासी जनजाति, दलित, महिला, मधेसीलगायत सम्पूर्ण उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“उत्पीडित समुदायले अपेक्षा गरेअनुसारको संविधानमा उनीहरूको अधिकार सुनिश्चित भएको छैन, संविधानलाई संशोधन गरी स्वीकार्यता बढाउँदै मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनुको विकल्प छैन” – उहाँले भन्नुभयो ।
मुलुकलाई विद्युत्भार कटौतीबाट मुक्त गर्दै रोजगारीको सिर्जना गरी बिदेसिएका युवालाई स्वदेशमै फर्काउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने सरकारको प्राथमिकता भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डाबाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत सहभागीहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस
प्रधानमन्त्री प्रचण्डले मुलुक निर्माणमा अतुलनीय योगदान पुरयाउने तामाङ समुदायको उत्थानका लागि सरकारले सक्दो सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिकारका लागि सबै उत्पीडित समुदायबीचको एकता हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्लोपटक बढ्दै गएको राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्दै संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले मुलुक निर्माणमा अतुलनीय योगदान पुरयाउने तामाङ समुदायको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले ठूला दलका शीर्ष नेताहरूले समानुपातिक समावेशी मुद्दालाई बेवास्ता गरेको भन्दै गुनासो गर्नुभयो ।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिबार काठमाडौँको टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरी मनाउँदै । तस्बिर ः रोशन सापकोटा, रासस
मूल समारोह समितिका संयोजक मोहन गोले तामाङले अवसर पाएको खण्डमा तामाङ समुदायले पनि गर्न सक्छन् भन्ने कुरा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उदाहरण हो भन्नुभयो ।
एकसय दसवटा विभिन्न सङ्घसंस्था र राजनीतिक भ्रातृ सङ्गठन समावेश मूल समारोह समितिले मुलुक निर्माण तथा तामाङ समुदायको उत्थानको निम्ति योगदान पुरयाएबापत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अधिकारकर्मीहरू लक्ष्मी लामा, मोहन घिसिङ, इन्द्र घिसिङ र चन्द्र योन्जनलगायतलाई सम्मान गरेको छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्षमा प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको मूल समारोहका सहसंयोजक वीरबहादुर योन्जनले जानकारी दिनुभयो ।
सोनाम ल्होसारको अवसरमा टुँडिलेखमा आयोजित कार्यक्रममा तामाङ समुदायको खाना, वेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]