लन्डन । स्टेजमा यम बुद्ध नामले चर्चित नेपालका ऱ्यापर अनिल अधिकारी लन्डनमा झुण्डिएर मरेपछि देश विदेशबाट उनका शुभचिन्तकहरुले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । उनका लाखौं युवा फ्यानको श्रद्धाञ्जलिले सामाजिक सञ्जाल अहिले भरिभराउ छ ।
उनी शनिबार बिहान घरको बाथरुममा घांटीमा बेल्टले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको पारिवारिक श्रोतले उल्लेख गरेको छ ।
लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए । पारिवारिक श्रोतका अनुसार, घर आएर खाना खाइ करिब १२ बजे श्रीमति अस्मिता सेढाईंसंगै सुतेका उनी साढे तीन बजे बाथरुम छिरेका थिए । बिहान ६ बजेतिर त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक भइरहेको पाएपछि किचनमा अर्को चाबीले ढोका खोल्दा उनी झुण्डिरहेको अवस्थामा भेटिएका थिए । टावल झुण्ड्याउने डन्डी बलियो र अलिक हाइटमा भएकाले बेल्टले घांटीमा पासो लगाउन सजिलो भएको परिवारको बुझाइ छ । त्यतिखेर उनको आइफोन सेभेन मोबाइल खल्तीमै थियो ।
‘काम सकेर घर खाना खाइ नर्मल सुतेको मान्छे एक्कासी त्यो अवस्थामा पाउंदा हामी आश्चर्यचकित भयौं’, एक आफन्तले भने, ‘यमको लोकप्रियता सन् २०१२ तिर खुबै चुलिएको थियो । बेलायत आएपछि विगत जस्तो प्रगति नभएको र बढ्दो तनावले पनि उनमा एक खालको वितृष्णा भएको हुनसक्छ ।’
सन् २००९ मा विद्यार्थी भिजामा लन्डन आएर सन् २०११ मा नेपाल फर्किएका उनी बिहेपछि २०१४ मा स्पाउज भिजामा यूके आएका थिए । ब्रिटिश पासपोर्ट होल्डर श्रीमति अस्मिताको स्पाउज भिजामा थिए उनी । २५ वर्षकै उमेरमा विधवा बनेकी यमकी श्रीमति र समस्त परिवार यतिखेर शोकमा छ ।
मर्नु दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङमा व्यस्त थिए । करिब ९५ प्रतिशत रेकर्डिङ सकिइसकेको र जनवरी १५ भित्र एल्बम रिलिज गर्ने सोचमा रहेको उनका एक आफन्तले जनाए । ‘मसंग बारम्बार कुराकानी भइरहन्थ्यो । एल्बम निकालेपछि ति गीतहरु आइट्यून, गुगल प्ले, एप्पल र स्पोटीफाइमा राख्ने योजना यमले सुनाएका थिए’, तिनले भने ।
यमले आगामी ११ फेब्रुअरीमा ‘भ्यालेन्टाइन वीकेन्ड’ कार्यक्रम गर्ने तयारी गरिरहेको उक्त कार्यक्रमका एक संयोजकले जानकारी दिएका छन् । उलवीच लोटस क्लबमा कार्यक्रम गर्न हल बुकिङ समेत भइसकेको थियो ।
हाल उनको शव ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा छ । शवको पोस्टमोर्टम बुधबार हुने पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी एकमात्र छोरा भएकाले अन्त्येष्टी नेपालमै गर्ने चाहना बाबुको छ । यतिखेर यमकी आमा र दिदी अष्ट्रेलिया र बहिनी अमेरिकामा पिएचडी गर्दै छन् ।
अधिकारी नयां एल्बम ‘खतरा’ समेत छिट्टै बजारमा ल्याउने तयारीमा थिए । उनको मेरो जुत्तामा, साथी, आउंदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् । इकान्तिपुरबाट
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ