काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।
सन्देशमा भनिएको छ – “यस अवसरमा सरकार सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहेको तथ्य स्मरण गर्न चाहन्छु ।”
संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु र हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु राष्ट्रिय आवश्यकता भएकामा प्रधानमन्त्रीले जोड दिनुभएको छ ।
सरकार संवाद र सहमतिका आधारमा उल्लिखित लक्ष्य हासिल गर्न क्रियाशील रहेको जनाउँदै सन्देशमा प्रधानमन्त्री दाहालले यस अवसरमा सम्पूर्ण ख्रीष्टियन समुदायसँग राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न अपिल गर्नुभएको छ ।
सन्देशमा भनिएको छ – हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
उहाँले आज दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
“क्रिसमस मनाउन जसरी हामी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै यस पर्वले समुन्नत नेपाल निर्माणका लागि प्रेरणा प्राप्त होस्,” उहाँले भन्नुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ – “धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुबाट सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर जुटाई सामाजिक एकता, सद्भाव एवम् धार्मिक सहिष्णुता कायम राख्न महत्वपूर्ण योगदान हँुदैआएको छ । यस्ता चाडपर्वको अवसरमा कायम हुने एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।”
यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सबै चाडपर्व मिलेर मनाउँदा राष्ट्रिय एकतालाई बलियो हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले सबै जातजाति, भाषाभाषी, संस्कृति र भिन्न भिन्न धर्मावलम्बीहरुबीचको आपसी सद्भावबाट नै मुलुकको प्रगति हुने विश्वास उहाँले प्रकट गर्नुभएको छ ।
आजै दिनुभएको शुभकामना सन्देशमा उहाँले क्रिसमसले सबैमा भ्रातृत्वको भावना पैदा गर्ने प्रेरणा दिन सकोस् भन्ने कामना गर्नुभएको छ ।
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी