काठमाडौँ, ४ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत आठ दलले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको विरोध गर्दै आज संसद् बैठक अवरुद्ध गरेका छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाउनुभएको थियो । सरकारले आन्दोलनरत सङ्घीय गठबन्धनका मागलाई सम्बोधान गर्न गत मङ्सिर १४ गते संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थियो । त्यसयता विपक्षी दलहरुले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
बैठक सुरुभएलगत्तै सभामुख ओनसरी घर्तीले नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीलाई बोेल्न समय प्रदान गर्नुभयो । सांसद राजवंशीले यसअघिको संसद् बैठक सारिएको सम्बन्धमा आफूलाई जानकारी नभएकामा सभामुख घर्तीसँग गुनासो गर्नुभयो ।
उहाँले संविधान संशोधनको प्रस्ताव फिर्ता लिई प्रदेश सीमाङ्कन निर्धारणका लागि स्वतन्त्र भूगोलविद् र विज्ञसहितको आयोग बनाउन आग्रह गर्नुभयो । प्रस्तावित संशोधन पारित भए पनि प्रदेश नं ५ मा जारी आन्दोलनको परिणाम भयावह हुने चिन्ता पनि उहाँले व्यक्त गर्नुभयो । सांसद राजवंशीले मुुलुक अहिले सङ्गीन अवस्थामा रहेकाले बुद्धिमत्तापूर्वक निर्णय गर्न नसके अवस्था गम्भीर बन्न सक्ने चेतावनी दिनुभयो ।
भाषा, नागरिकता, प्रदेशको सीमाङ्कनजस्ता विषयलाई अघि सारेर दर्ता गरिएको संविधान संशोधन प्रस्ताव मुलुकको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध भएको विपक्षीको तर्क छ ।
पटक पटकको आग्रहपछि विपक्षी दलका सांसदहरुले स्थान ग्रहण नगरेपछि सभामुख घर्तीले प्रतिपक्ष दलका सांसद आफ्ना ठाउँमा उभिएर विरोध गरेको अवस्था भनेको अवरोधको अवस्था भएको भन्दै बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो ।
संशोधन प्रस्तावमा वैवाहिक अङ्गीकृत नागरिकता, प्रदेशको सीमाङ्कन हेरफेर, राष्ट्रियसभामा प्रतिनिधित्व र भाषा आयोग गठन गर्नेजस्ता विषय उल्लेख छ ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यक्रम थियो ।
त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले दर्ता गर्नुभएको महाअभियोगको प्रस्तावमाथिको छलफल गर्ने कार्यसूची तय गरिएको थियो । संसद्को अर्काे बैठक पुस ७ गते दिनको १ बजे बस्नेछ ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा