क्यालेन्डर बनाएर तीन तहको निर्वाचन गराइने देउवाको दृढता

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुदृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रमको उद्घाटन गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुदृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रमको उद्घाटन गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

 

काठमाडौँ, २७ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले क्यालेन्डर बनाएर २०७४ साल माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराइने बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रममा सभापति देउवाले भन्नुभयो, “निर्वाचन नभएर देश पछाडि परिसक्यो । देशलाई विकासको बाटोमा उन्मुख गर्न कुनै पनि हालतमा चुनाव हुन्छ । चुनाव रोकिँदैन ।”

सभापति देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आफूले निर्वाचन गर्ने विषयमा हिजो मात्रै छलफल गरेको बताउँदै एमाले निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्नुभयो । एमाले अध्यक्षसँग मिलेसम्म नयाँ स्थानीय संरचना नभए पुरानो संरचनाका आधारमा भए पनि स्थानीय निकायको निर्वाचन गर्नेबारेमा आफ्नो कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले संविधान संशोधनप्रति असन्तुष्टि भन्दै एमालेले मधेस र पहाडबीच झगडा गराएर देशमा विभाजन ल्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “पहिला प्रदेश नं ५ को मगर समुदायमा बसेका मानिस प्रदेश नं ४ को गुरुङ समुदायमा बस्दा के हुन्छ ?”

उहाँले नेविसङ्घ बलियो भएमा मात्र मुलुक बलियो हुने भन्दै आगामी स्ववियुको निर्वाचनमा नेविसङ्घलाई जिताउन सबै विद्यार्थी एक भएर लाग्न निर्देशन दिनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान परिमार्जन हुँदै जाने दस्तावेज भएको बताउँदै संविधान संशोधनका विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आउनु दुःखद भएको बताउनुभयो ।

महामन्त्री कोइरालाले सबै दललाई मिलाएर राष्ट्रिय सहमतिका साथ मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको लामो त्याग र बलिदानपछि संविधान निर्माण भएको छ । यसलाई गुम्न दिनुहुँदैन ।”

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन नेपाली काँग्रेसकै अग्रसरतामा हुने बताउनुभयो । उहाँले पार्टीमाथि प्रतिबन्ध रहेका बेलासमेत नेविसङ्घले पार्टीको भूमिका खेलेको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि अहिले नेविसङ्घले दबाब सिर्जना गर्नुुपर्ने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान संशोधन दलहरुको साझा एजेन्डा भएको बताउँदै क्षणिक फाइदाका लागि एमालेले संविधान संशोधन गर्न हुँदैन भनी अनर्गल प्रचार गरिरहेको आरोप लगाउनुभयो ।

केन्द्रीय सदस्य एवम् नेविसङ्घका पूर्वअध्यक्ष गोविन्द भट्टराईले सडकमा बसेर राष्ट्रियताको कुरा गर्दैमा राष्ट्रियता बलियो नहुने बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य एवम् नेविसङ्घका पूर्वअध्यक्ष प्रदीप पौडेलले एमालेले आफ्नो सरकार रहेका बेला संविधान संशोधन र कार्यान्वयनका कुनै चासो नदिएको तर अर्को सरकारले काम गर्न खोज्दा अनावश्यक भाँजो हालेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री