लन्डन । निर्णायक र परफर्मर दुवै जिम्मेवारीले नायिका प्रियंका कार्की आइतबार दिनभर व्यस्त भइन् । सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ मा प्रियंका कहिले स्टेजमा मन्तव्य दिन पुग्थिन् कहिले आफैं नाच्न । नाचका प्रतियोगीको निष्पक्ष निर्णय गर्नुपर्ने अर्को चुनौती थियो । ‘आफ्ना सन्तानको प्रतिभा उजागर हुने यो प्लेटफर्म उपलव्ध गराइदिनुभएकामा सबै अभिभावकप्रति म कृतज्ञ छु’, प्रियंका उत्प्रेरित गर्दै थिइन्, ‘आफ्ना छोराछोरी फिल्म, मोडलिङ, डान्स, डाक्टर वा पाइलट जुन क्षेत्रमा रुचि राख्छन् त्यो गर्न दिनुस् । इच्छा मारिदिनुभयो भने उनीहरु दुःखी हुन्छन् र त्यसले अन्त्यमा तपाईं अभिभावकहरु झन् दुःखी बन्नु पर्छ ।’ परिवारकै पूर्ण समर्थनले आफूले सफलता चुमिरहेको उनले स्मरण गरिन् ।
सपन इन्टरटेन्मेन्ट लिमिटेडले आयोजना गरेको उक्त नृत्य प्रतियोगितामा वीनर भइन् जेनी सुनुवार । १२ सय पाउण्ड नगदसहित प्रमाणपत्र र ट्रफी उचालेपछि खुशी व्यक्त गर्दै जेनीले आफ्ना अभिभावक, निर्णायक र आयोजकप्रति कृतज्ञता व्यक्त गरिन् । प्रतियोगितामा फस्ट रनरअप भइन् काजोल गुरुङ । उनले ८ सय पाउण्ड जितेकी छन् भने सेकेन्ड रनर अपको उपाधिमध्ये पहिलो पुनम गुरुङ र दोश्रो रिचा, नेहा र अन्जनाको समूहले जित्यो ।
पब्लिक च्वाइसमा पहिलो स्थान जेनी सुनुवार, दोश्रो काजोल गुरुङ र तेश्रो स्थान प्रतिष्ठा त्रिपाठीले सुरक्षित गरे । उनीहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरियो । एकल र समूहमा आवद्ध कुल १४ प्रतिष्पर्धीले पहिलो चरणमा नेपाली मौलिक नाच र दोश्रोमा स्वेच्छाले विभिन्न नाच देखाएका थिए ।
कार्यक्रमकै लागि नेपालबाट आइपुगेका सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी थिए नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी । मन्तव्यका क्रममा उनले यस्तो प्रतियोगिताले मनोरन्जनमात्र होइन, युवायुवतीमाझ लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा राखे । प्रतियोगिताकी एम्बासडर, निर्णायक एवं कोरियोग्राफर रिनासा बान्तवा राईले डान्समै करिअर बनाउन सकिने उदाहरण दिइन् । ‘साइन्स पढ्दा पढ्दै नृत्यतिर लाग्दा मैले धेरै चुनौती सामना गर्नुपरेको थियो । तर, आफ्नो समर्पणले अहिले म यस स्थानमा छु’, उनले भनिन् ।
सपन इन्टरटेन्मेन्ट लिमिटेडकी निर्देशक मन्जु गुरुङ राईले स्वागत मन्तव्य दिइन् । प्रतियोगितामा प्रियंका, रिनासा, फिल्म निर्देशक मिलन चाम्स र आरजे सन्जय गुप्ता निर्णायक थिए ।
सरला थापा र सूर्य गुरुङले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा आर के स्क्वायर ब्याण्डले आफ्नो गीत संगीत प्रस्तुत गरेको थियो । निसा गुरुङले संयोजन गरेको उक्त प्रतियोगितामा राजदूत सुवेदी, दूतावासका उपनियोग प्रमुख शरदराज आरन, सोलिसिटर राजु थापा, व्यवसायीहरु विराज भट्ट, वी पी खनाल, डा. कपिल रिजाल, कमल गुरुङ, सूर्जे (रामचन्द्र) गुरुङ, सूर्य गुरुङ लगायतले विजयीलाई पुरस्कार प्रदान गरेका थिए ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह