
नेपाली काँग्रेस पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी हुन पुग्नुभएका पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ५१ किलोको फुलको माला लगाएर स्वागत गर्दै नेता तथा कार्यकर्ताहरु । तस्बिर ः विजय कुमार महतो, रासस
पर्सा, ११ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी जनताको इच्छा, भावना र माग बमोजिम सरकारले आइतबार संसद्मा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको जानकारी दिनुभएको छ ।
काँग्रेसको पहलमा सरकारले ल्याउन लागेको संशोधन प्रस्ताव सबै दलको सहयोगमा पारित हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले प्रस्तावको विरुद्ध जाने दललाई नेपाली जनताले दण्डित गर्ने दाबी गर्नुभयो ।
नेपाली काँग्रेस पर्साले आज वीरगन्जमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले मधेसी जनताको भावना र निष्ठामाथि शङ्का नगरी उनीहरुले उठाएका जायज मागलाई सम्बोधन गर्न सबै दललाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो –“संसद्मा भोलि नै मधेसको माग र भावनाअनुसार संशोधन प्रस्ताव दर्ता गर्दैछौँ र त्यो पास पनि गराउँछौ ।” मधेसी जनताले माग गरेअनुसारको सीमाङ्कन, अन्तरिम संविधानमा भएको नागरिकताको प्रावधान, समावेशी समानुपातिक प्रतिनिधित्व, भाषालगायतका विषयलाई समेटेर संशोधन प्रस्ताव तयार पारिएको भन्दै काँग्रेस सभापति देउवाले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पास हुनैपर्ने बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता देउवाले राष्ट्रसमक्ष संविधान कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरी सङ्घीयतालाई बलियो बनाउने अभिभारा बाँकी रहेकाले संविधानलाई सर्वस्वीकार्य बनाई मुलुकलाई निकास दिन एमालेलगायत सबै दललाई आग्रह गर्नुभयो ।
स्थानीय तह पुनःसंरचनामा समस्या देखिएकाले संविधान कार्यान्वयन गराउनका लागि पुरानै संरचनामा भएपनि स्थानीय निकायको निर्वाचन गरी मुलुकलाई निकास दिन काँग्रेसले धारणा बनाएको नेता देउवाले जानकारी दिनुभयो ।
स्थानीय निकायको निर्वाचन सम्पन्न नभए संविधान कार्यान्वयन हुन नसक्ने र मुलुक दुर्घटनामा फस्ने खतरा रहेकाले मुलुकको निकास र लोकतन्त्रको रक्षाका लागि पुरानै संरचनामा भएपनि एकपटकका लागि स्थानीय तहको निर्वाचन गराउन आवश्यक रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सिँचाइमन्त्री दीपक गिरीले संविधान संशोधनको औचित्य छैन भनी एमालेले संविधान कार्यान्वयनमा समस्या सिर्जना गर्न चाहेको आरोप लगाउनुभयो । उहाँले मधेसी जनताको माग संबोधन गरी संविधानलाई सर्वस्वीकार्य नबनाए स्थानीय निकायको निर्वाचन हुन नसक्ने र संविधानसमेत कार्यान्वयनमा शङ्का उत्पन्न हुने भएपनि एमालेले संशोधन प्रस्तावविरुद्ध जनमानसमा भ्रम सिर्जना गरिरहेको दाबी गर्नुभयो ।
नेपाली काँग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलालाई काँग्रेस केन्द्रीय सदस्यहरु रमेश रिजाल, अजय चौरसिया, फरमुल्लाह मन्सुर, गुरुराज घिमिरे, सांसदहरु राजेन्द्रबहादुर अमात्य, अनिल रुंगटा, रामअयोध्या यादव, राधेचन्द्र यादव, मधु शाही, लालबाबु सिंह, जितेन्द्र यादवलगायतका वक्ताले मधेसीको मागलाई हरहालतमा सम्बोधन गरी मुलुकलाई निकास दिन सबै दललाई आग्रह गर्नुभएको थियो ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक