
मस्को, ११ कात्तिक । रुसले आगामी वर्षको अन्त्यसम्ममा सबै खाले रासायनिक हातहतियार नष्ट गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय जगतसँग रुसले गरेको पूर्वप्रतिबद्धताअनुसार बाँकी रहेका रासायनिक हातहतियार व्यवस्थापन गर्ने अन्तिम म्याद सन् २०१८ सम्म भए तापनि एक वर्ष अगावै अर्थात् सन् २०१७ को अन्त्यसम्म नष्ट गरिने एक उच्चपदस्थ रुसी सैनिक अधिकारीले बताए ।
रुसी सेनाको हात हतियार भण्डारण तथा रासायनिक हतियार मौज्दात विस्थापन केन्द्रका प्रमुख जनरल भ्यालरी कपासिनले बाँकी रहेका सबैथरी रासायनिक हातहतियार तथा उपकरणहरू सन् २०१७ को डिसेम्बर सम्ममा नष्ट गरिसक्ने जानकारी सञ्चार माध्यमहरूलाई बिहीबार दिएका छन् ।
सम्पूर्ण विश्वलाई नै रासायनिक हात हतियारमुक्त गर्ने उद्देश्यले वर्षौं अघि ठूला शक्तिराष्ट्र संलग्न एक अन्तर्राट्रिय रासायनिक हातहतियार विस्थापन सम्मेलन (केमिकल विपन्स कन्भेन्सन) को आयोजना गरिएको थियो ।
रुस पनि यस सम्मेलनद्वारा प्रतिपादित प्रतिज्ञापत्रमा हस्ताक्षर गर्ने राष्ट्रहरूमध्ये एक हो । उच्चपदस्थ अधिकारीका अनुसार रुसले हालसम्म आफ्ना रासायनिक हातहतियारको ९३ प्रतिशत अंश नष्ट गरिसकेको छ ।
रुसमा रासायनिक हातहतियार निर्माण गर्ने विश्वको सबैभन्दा विशाल कारखाना (आर्सनल) रहेकाले ठूलो परिमाणमा हातहतियार नष्ट गर्दा विगतका २० वर्षमा थुप्रै विस्थापन केन्द्र (प्लान्ट) हरू निर्माण गर्नका लागि ठूलो धनराशि खर्च भइसकेको पनि रुसले जनाएको छ ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]