जुन महिनाको २३ गते सूर्य दक्षिणतिर सोझिन्छ । उत्तरतिर जाने सीमा टुङ्गिन्छ । त्यसैदिन बेलायती राजनीतिले पनि यूरोपियन यूनियनमा रहने कि छाड्ने भनेर दिशा निर्धारण गर्ने भएको छ । बेलायतसमेत यूरोपियन यूनियनमा २८ मुलुकहरू छन् । दोस्रो विश्वयुद्ध पछिको माहोलमा रोम सन्धीबाट यूरोपियन इकोनोमिक कम्यूनिटी गठन भयो । शक्ति सन्तुलन कायम गर्न आवस्यकता महसुस गर्दै लिसबन ट्रिटीबाट यूरोपियन काउनसिल गठन गरियो जसलाइ इयूको प्रशासनिक केन्द्रका रूपमा लिइन्छ । बेलायती संसदको शक्ति पनि उक्त प्रशासनिक केन्द्रतिर सरेको बहसलाइ राजनैतिक दाउपेच र नीति निर्माताहरूले कोरेको भविष्यको खिचातानीबीच बेलायत सरकारले यूरोपियन यूनियनको प्रशासन स्वीकार गर्ने कि नगर्ने भनेर जनमत संग्रह घोषणा गरेको हो । पृथ्विको उत्तरमा पर्ने नर्वे, फिनल्याण्ड र रस्सामा बस्ने मान्छेहरूको सूर्य नअस्ताउने दिनबाट रातपर्ने दिनहरू सूरू हुन्छ । त्यसै दिन बाटोमा मोटरहरू दायाँ पट्टि दगुर्ने यूरोप समूहमा बाटोको बायाँबाट मोटरहरू दगुर्ने देश बेलायत छुट्टिने कि मिसिने भन्ने जनमतसंग्रह हुने भएको छ ।
यो छुट्टिने र मिसिने प्रसंग सूरू गर्नु भन्दा पहिला यूरोपियन आर्थिक समुह (European Economic Community- EEC) र यूरोपियन संघ (European Union) बीचको फरक जान्नु पनि जरूरी छ । किनकि यस जनमतसंग्रहले यूरोपियन यूनियनबाट छुट्टिने निर्णय गरेपनि यूरोपियन आर्थिक समूह (इइसी) बाट मानो छुट्टाउने भन्ने अर्थ भने हुँदैन । नर्वेको जस्तो अवस्थामा बेलायत पनि रहन सक्ने हुन्छ । नछुट्टिने जनमत बढि भएमा चलिरहेको गति हात्ति लम्के जस्तो लम्कने मात्र हो । बैधानिक अर्थमा यूरोपियन कन्भेन्सन अन ह्यूमन राइटको परिधिमा बेलायत बाधिँएर बस्ने कि छुट्टिएर स्वतन्त्र बस्ने भन्ने नै यो जनमत संग्रहले निर्णय गर्ने छ । अधिकारबादको अर्थमा हेर्दा सन् १२१५ को म्याग्ना कार्टाबाट बेलायतले देखाएको बाटोमा जन्मेको उन्नत विधानका रूपमा उक्त मानवअधिकार कन्भेन्सनलाइ लिन सकिन्छ । बेलायतले बनाएको सभ्यताको बाटो अर्को समूहलाइ छाडेर पुरानो गोरेटोमा बेलायत हिड्न थाले त्यसको भविष्य के हुन्छ भन्ने अहिले अनुमान गर्न सकिने स्थिति छैन । बेलायतको स्वतन्त्रताका हिमायती कहलाउन रूचाउने तथा जनमत संग्रहमा इयू छोड्नपर्छ भन्नेहरू बेलायतको सार्वभौमसत्ता वेस्टमिनिस्टरबाट ब्रसेल्स (यूरोपियन यूनियनको मुख्यालय) मा सरेकोले स्वतन्त्रता गुमेको वकालत गर्ने गर्छन् ।
यस विषयलाइ राजनैतिक रूपले हेर्दा कन्जरभेटिभ पार्टीले मतदाताहरूको भावना जित्नकै लागि चुनावी घोषणापत्रमा यूरोपको जनमत संग्रहका कुरा उठाएर एकलौटी सरकार गठन गर्न सफल भएका कारण जनमतसंग्रहको मिति घोषणा गरेको जानकारहरू बताउँछन् । आर्थिक रूपमा आफ्नो नेतृत्वमा यूरोपियन यूनियनलाइ नचाएर भूमण्डलीकरणको भेलमा विश्वमा बेलायती भूमिका कायम गर्ने नीतिका रूपमा यसको संलग्नतालाइ बुझ्ने गरिन्छ । बेलायती नेताहरू विश्व राजनीतिमा बेलायती भूमिका चलखेल गर्न यूरोपियन यूनियनलाइ आवस्यक ठान्छन र कतिपय कट्टरपन्थि बेलायती जनताहरू स्वतन्त्रता गुमेको वकालत गर्छन् । कट्टरपन्थिहरूको नेतृत्व ब्रिटिस नेस्नालीस्ट पार्टीबाट अहिले नाइगेल फराज नेतृत्वको यूके इन्डिपेन्डेन्ट पार्टी तिर सरेको पाइन्छ । बेलायती राजनीतिको मध्यधारमा एकलौटी सरकार चलाइरहेको कन्जरभेटिभ पार्टी रहेको छ । बामपन्थबाट उत्प्रेरित मानिने लेबर पार्टी भने यूरोपियन कन्भेन्सनको कारणले श्रमजीवीहरूको अधिकार थपिएको तथा असमानता विरोधी कानूनले बेलायतमा प्राथमिकता पाएको तर्कका साथ इयू छाड्न नहुने तर्क अगाडि सारेको छ । तर, मुख्य राजनैतिक दलका नेता र कार्यकर्ताहरू पनि इयू छाड्न पर्छ र छाड्न हुँदैन भन्ने जनमतसंग्रहको अवस्थामा आएर दुवैतिर विभाजित भएका छन् । मुख्य राजनैतिक दलहरूको आधिकारिक धारणा इयू छाड्न हुँदैन भन्ने रहेपनि इयू छाड्ने तर्कना सहित जनमतसंग्रहको प्रचारप्रसारमा लाग्न नेताहरू भने स्वतन्त्र रहेका छन् ।
यो राजनैतिक निर्णयले बेलायतको अर्थतन्त्रमा ठूलो असर पार्ने निस्चित छ । त्यो असर कति समय लम्बिन्छ भन्नेमा मात्र विवाद छ । जनमत संग्रहको घोषणासंगै ओरालो लागेको बेलायती मुद्रा पाउण्डको मुल्य र शेयरबजार लण्डनका पूर्व मेयर बोरिस जोनसोनले यूरो छाड्ने पक्षमा धारणा ब्यक्त गर्नासाथ एक खुड्किला तल झर्यो ।
यो जनमत संग्रहको सामाजिक पक्षका रूपमा आप्रवासन् (इमिग्रेसन) को ठूलो महत्व छ । छाड्ने र नछाड्ने दुवै पक्षका नेतृत्वपक्षले बेलायतको एजिङ समस्या (बुढाबुढीको संख्याका अनुपातमा युवासंख्या कम) का कारण आप्रवासी नभित्रिइ बेलायतको अर्थतन्त्र नचल्ने ठोकुवा गर्छन् । दुइ पक्षबीचको भिन्नता के मात्र हो भने यूरोपका मान्छे सिमाना खोलेर भित्राउने कि संसारबाट छानेर आवस्यक संख्यामा कामदार भित्राउने ? आखिर मान्छे नभित्राइ त भएकै छैन् ।
सामाजिक बहसका रूपमा आप्रवास नीतिसंगै सुरक्षा नीति तथा आतंकबाद नियन्त्रणलाइ पनि जोडेर ब्याख्या गरिँदैछ । नेटो समुहको बलका कारण इयूबाट छुट्टिनु नछुट्टिनुले फरक पार्लाकि नपार्ला भन्नेमा दुवैथरिका बलिया तर्कहरू जोख्न मतदाताहरूलाइ हम्मे हम्मे परिरहेको छ । यसै यथार्थमा दुवैथरि आफ्ना तर्कका भरमा आफ्ना पक्षमा मत तान्न तल्लिन छन् ।
समग्रमा आफुलाइ बेलायती पुर्ख्योली मान्नेहरू मध्ये सर्वसाधारणहरू सार्वभौमसत्ता बचाउन इयू छाड्न पर्ने तर्कनाबाट प्रभावित देखिन्छन भने नेतृत्वपंक्ति र नीति निर्माणमा दख्खल पुर्याउनेहरू इयू छाड्नाले बेलायती जनताको हित नहुने कुरा विस्वास दिलाउन कसरत गरिरहेको पाइन्छ । आप्रवासीहरूले मुखले जे कुरा भने पनि बेलायतमा अवसर पाएर भित्रिएका कारण पनि बेलायती सार्वभौमसत्तासंगको ठूलो चासो भन्दा पनि छाड्दा र नछाड्दा अवसर गुम्ने कि थपिने मुख्यांकन गरेर धारणा बनाइरहेको यथार्थ लुकाएर लुक्ने स्थितिमा रहेको छैन । जनमतसंग्रहमा आप्रवासीहरूको मतको संख्या पनि ओजपूर्ण छ ।
यस जनमतसंग्रहमा बेलायतले इयू छाड्न हुँदैन भन्ने तर्क गर्नेको होस्टेमा हैँसे गर्न अमेरिकाबाट राष्ट्रपति बराक ओवामा पनि बेलायत झरे । छुट्टै बेलायतसंग गर्ने सम्झौतामा भन्दा समग्र इयूसंग सम्झौता गर्न अमेरिकाले रूचाउने बस्तुस्थिति जनाएर विश्व राजनीतिको सहकर्मीले इयूको नेतृत्व हाकिरहोस भन्ने चाहना प्रष्ट पारे । यसबाट पूंजीबाद र उदारबादले सन्तुलन मिलाउन विकास गरेको इयूको महत्व बचाउन ओबामा, पूर्व प्रधानमन्त्रीहरू जोन मेजर, टोनि ब्लेयर तथा गोर्डन ब्राउनले न्वारनदेखिको बल निकालिरहेको कुरा स्थानीय मिडियाहरूले पनि छरपस्ट पारिरहेका छन् । तर, निर्णयकर्ता बेलायती जनताको मतपरिणाम अड्कलबाजीमै सिमित छ ।
भारत र चीन जस्ता विश्व शक्तिले पनि बेलायतको जनमतसंग्रहलाइ चासोका साथ हेरेका छन् तर देखाइमा भने कौवालाइ बेल पाकेर फरक नपरे जस्तो भान पारिरहेका छन् । बेलायतमा चलिरहेको तर संकटमा झुन्डिएको भारतको टाटाकम्पनीको इस्टिल उध्योग असफल हुनुमा चिनको सस्तो स्टिलले विश्व बजार खोसेको दोष खेपिरहेको छ । उक्त उध्योगका चालीस हजार मजदुरको जागिर संकटमा रहेको छ । उध्योग कुन दिन बन्द हुन्छ भन्ने त्रासमा छन् उनका परिवार । यो त एक उदाहरण मात्र हो । यस्तो बजारमा असर पार्ने जनमतसंग्रहले चिन र भारत दुवैलाइ असर पार्ने त निस्चित नै छ । तर जनमतसंग्रहले बेलायती जनतालाइ सार्वभौमसत्ता जोगिए नजोगिएको सन्तुस्टि दिएपनि गुम्न थालेका जागिर बचाइहाल्ने समाधान भने तत्कालै दिने छैन् । यसको असर दीर्घकालीन हुनेछ ।
अन्त्यमा जनजीविकाको सन्दर्भ हेर्नेहो भने सम्भ्रान्त तथा हुनेखानेलाइ जहाँ जान पनि भीसाले छेक्दैन, उनीहरूले भीषा पाइहाल्छन् । यहाँ सम्म कि बेलायतकी महारानी एलिजाबेथ त पासपोर्ट नै नभइ सन्सारभरि चाहर्छिन् तर श्रमजीवीलाइ श्रम बेच्ने बजार खोज्न जान देशको सिमानाले रोक्छ । भीषा नपाएर अड्किन्छन् । त्यसैले देशको सिमाना जति फराकिलो भयो, श्रम वेच्न जान त्यति नै फराकिलो हुन्छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई