लण्डन । इन्टर पार्लियामेण्ट्री ग्रुपको निम्तोमा एकसाता लामो युके भ्रमणमा आएकी सभामुख ओनसरी घर्तीमगरको पहिलो दिन धपेडीमा बित्यो ।
ठूला चार दलका प्रमुख सचेतकहरु, संसदका महासचिवसहित आइतबार बिहान हिथ्रो विमानस्थल ओर्लेकी उनी सीधै उनीहरुको लागि प्रबन्ध गरिएको हिल्टन होटल, वेष्टमिन्स्टर पुगेकी थिइन् । नेपाली प्रतिनिधिमण्डलका लागि बुक भएका कोठा आइतबार (दिउँसो) देखि मात्र लागू हुने भएकाले होटलकै एउटा कोठामा सामान राखेर हतारहतार हातमुख धोइ उनी मगर संघ युकेको कार्यक्रमतर्फ लागिन् ।
करिब डेढघण्टाको कार यात्रा उनले थोरै त्यहीं थकाइ मात्र पाइन् । फार्नब्रोको मगर भवनमा उनी पुग्दा आयोजकहरु उनलाई करिब दुईघण्टा कुरेर बसेका थिए । तीन लहरमा उभिएका सर्वसाधारणहरुबाट खादा, पुष्पगुच्छा लिएपछि उनलाई मगर संघ युकेका बारेमा अध्यक्ष नेम थापा र उपाध्यक्ष बम सूर्यबंशीले जानकारी गराए । त्यसपछि उनले उपस्थित समुदायलाई सम्बोधन गरिन् ।
नेपालमा पहिलोपटक जनप्रतिनिधिहरुले संविधान लेखेकोमा गर्व लागेको भन्दै उनले संविधानलाई पूर्ण बनाउन अझै बाँकी रहेको विचार राखिन् । संविधानले समावेशी सिद्धान्तलाई स्वीकार गरेकाले अब भेदभाव बाँकी नरहेको उल्लेख गरिन् । तर संविधानलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन मुख्य चुनौती रहेको उनको विचार थियो ।
सामूहिक, पारिवारिक फोटो सेसनपछि उनी गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रमस्थलतर्फ लागिन् । उनी पुग्दा अल्डरसटस्थित किंग्स सेन्टर भरिभराउ भइसकेको थियो । खाना खाइसक्ने बित्तिकै एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङको अध्यक्षतामा कार्यक्रम शुरु भयो । महासचिव विजयविक्रम लिंगदेनले संचालन र उपाध्यक्ष कुमारी गुरुङले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा युकेस्थित नेपाली राजनीतिक पार्टी, एनआरएन प्रतिनिधि, गोरखा भूपू सैनिकका संस्थाहरुले आफ्ना माग, असन्तुष्टी र नेपाल सरकारले गर्नपर्ने कामका फेहरिस्त पोखे । जसमा गोरखा सत्याग्रहका ज्ञानराज राई र डा. रामनारायण कन्दङवा, नेपाल भूतपूर्व सैनिक संघ (नेसा)का अध्यक्ष केशबहादुर गुरुङ, नेपाली जनसम्पर्क समितिका अध्यक्ष लोक गुरुङ, जनएकता समाजका पूर्ण लोक्सम, जनप्रगतिशील मञ्चका सुरेन्द्र श्रेष्ठ र एनआरएन युरोप संयोजक कुल आचार्य थिए ।
मंचमा रहेका नेपाली काँग्रेस र एनेकपा माओवादीका प्रमुख सचेतकहरु चिनकाजी श्रेष्ठ र हितराज पाण्डेलाई बोल्ने मौका नदिई प्रमुख अतिथि सभामुख ओनसरी घर्तीमगरलाई मञ्चमा बोलाउँदा मंचमा रहेका अतिथिहरु नै छक्क परेका थिए ।
‘सांसदज्यूहरुको पनि प्रतिनिधित्व गर्दै’ बोलेकी घर्तीमगरले नेपाल बेलायतबीचको सहयोगात्मक सम्बन्धलाई निरन्तरता दिने बताइन् । गोरखाहरुका पक्षमा आफ्नो भेटहरुमा कुरा उठाउने आश्वासन उनले दिइन् । एनआरएनहरुलाई नेपालमा लगानीमैत्री कस्तो कानुन चाहिने हो त्यो बनाउने प्रतिवद्धता व्यक्त गरिन् । नेपालको राजनीतिक पार्टीहरु जटिल समयकालमा एकतावद्ध भएको उल्लेख गर्दै अबको नेपालको अजेण्डा सम्बृद्धि, विकास र उन्नति भएको बताइन् ।
कार्यक्रम समापनपछि छोटो फोटोसेसन भयो । यतिञ्जेलमा किंग्स सेन्टरको माथिल्लो तलामा पर्खेर बसेको गोरखा सत्याग्रहको टोली सभामुखलाई लिन आइसकेको थियो ।
सत्याग्रहका अल्डरसट समितिका अध्यक्ष हितमान गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा निर्देशक ज्ञानराज राई, संयोजक कृष्णबहादुर राई, गोरखा दुत डा. रामनारायण कन्दङवा, सहसंयोजक सूर्य नेम्वाङलगायतले गोरखाहरुको समस्याको बेलीविस्तार लगाए । संसदका सचिव मुकुन्द शर्मा पौड्याल, एमाओवादीका सचेतक हितराज पाण्डेले गोरखाहरुको माग जायज भएको भन्दै संसद र आफ्नो पार्टीको समर्थन रहेको बताए । त्यसपछि पालो आयो सभामुख घर्तीमगरको । करिब १२ घण्टाको हवाइ यात्रा र त्यसपछिको निरन्तर कार्यक्रमले उनको चेहरामा थकान प्रष्टै देखिन्थ्यो ।
उनले गोरखाहरुलाई आश्वासन दिँदै नेपाल सरकारले सदाभन्दा यसपटक गोरखाहरुको सवाललाई गम्भीरतापूर्वक हेरेको बताइन् । युके आउनुअघि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीसित परामर्श गरेको भन्दै उनले नेपाली प्रधानमन्त्री गोरखाहरुका बारेमा नेपाली संसदमा समिति बनाउन सकारात्मक रहेको जानकारी दिइन् । उनले गोरखाहरुको भेदभाव चाँडै अन्त्य हुने आशा पनि व्यक्त गरिन् ।
कार्यक्रम सकेर साँझ करिब ८ बजे सभामुख घर्ती होटलतर्फ लागिन् । सोमबार बिहानैदेखि औपचारिक भेटघाट र छलफलमा उनी सहभागी हुनेछिन् ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने